सबस्टेसन निर्माणविरुद्ध लप्सीफेदीका स्थानीय १२ दिनदेखि आन्दोलनमा

स्थानीयले मानवबस्ती नजिक निर्माण हुन लागेको सबस्टेसनले बस्ती नै जोखिममा पर्नसक्ने भन्दै विरोध थालेका हुन्। तर प्राधिकरणले सबस्टेसन बनाउँदा बस्तीलाई कुनै जोखिम नहुने जनाएको छ।

काठमाडौँ- विद्युत प्राधिकरणले बनाउन लागेको बोझिनीस्थित सबस्टेसनको विरोधमा शंखरापुर नगरपालिका–३ लप्सीफेदीका बासिन्दा १२ दिनदेखि आन्दोलनमा छन्। 

स्थानीयले मानवबस्ती नजिक निर्माण हुन लागेको सबस्टेसनले बस्ती नै जोखिममा पर्नसक्ने भन्दै विरोध थालेका हुन्। उनीहरूले सबस्टेसन निर्माणमा लगातार अवरोध गरिरहेका छन्। 

सरकारले अवरोध हटाउन प्रहरी प्रशासन परिचालन गरेपछि त्यहाँ पटकपटक झडप भइरहेको छ। स्थानीयले बिहीबार सबस्टेसनसम्म पुग्ने सडकमा खाडल खनेर अवरोध गरेका छन्। प्रहरीलाई रोक्न स्थानीय महिला धर्ना पनि बसेका थिए। 

धर्नामा प्रहरीले हस्तक्षेप गर्दा झडपसमेत भएको थियो। धर्ना बसेका महिलालाई पुरूष प्रहरीले हातपात गरेको स्थानीय संघर्ष समितिले जनाएको छ।

बस्तीबीचमा बन्न लागेको सबस्टेसन स्तान्तरण हुनुपर्ने स्थानीयको माग भएको संघर्ष समिति संयोजक रणजित तामाङले बताए। आदिवासी बस्ती विस्थापित पार्ने गरी कुनै पनि कार्य नगर्न सचेत गराउँदै विगत चार वर्षदेखि स्थानीयले आन्दोलन गरेको उनको भनाइ छ। “त्यति बेला दलबलसहित आएर हाम्रा दिदीबहिनी दाजुभाइलाई दमन गरेर सर्भेको काम अघि बढाइएको थियो। त्यसैले अहिले अवरोध गर्नुपरेको हो”, उनले भने।
 
शंखरापुर नगरपालिका-३ का वडाअध्यक्ष सूर्यबहादुर तामाङले जनताको माग सम्बोधन गर्नुको साटो बल प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाए। “स्थानीयको सरोकार बुझेरै हामीले नगरसभाबाट पनि यस विषयमा निर्णय गरेका हौँ”, अध्यक्ष तामाङले “स्थानीयको माग  जायज छ। तर, विद्युत प्राधिकरण र सरकारले स्थानीयको मागको उपेक्षा गरेका छन्।”

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार २०७४ सालमै त्यहाँ ४०० केभी ट्रान्समिसन लाइनको सबस्टेसन बनाउने निर्णय भएको हो। विशेष गरेर न्यू खिम्ती हुँदै बाह्रबिसेबाट लप्सीफेदीसम्म प्रशारण लाइन बनाएर तामाकोसी र भोटेकोशी जलाधारबाट निकालिने विद्युत यसै लाइनमार्फत काठमाडौँ ल्याउने प्राधिकरणको योजना छ| 

उक्त स्थानमा सबस्टेसन बनाउन मुआब्जा तथा क्षतिपूर्ति रकम पनि बाँडिएको थियो। तर निर्माण शुरू भएपछि अवरोध हुनु विकास विरोधी काम भएको भट्टराईको भनाइ छ। सबस्टेसन बन्दा बस्तीलाई असर गर्ने तर्क आधारहीन भएको पनि उनले बताए।