पुलित्जर विजेता कश्मिरी पत्रकार सनालाई विदेश भ्रमणमा रोक

भारतले प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता कश्मिरी फोटो पत्रकार सना इर्शाद मातोलाई देशबाहिर जान रोकेको छ।

भारतले प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता कश्मिरी फोटो पत्रकार सना इर्शाद मातोलाई देशबाहिर जान रोकेको छ। अमेरिका जाँदै गर्दा आफूलाई दिल्ली विमानस्थलमा अध्यागमनका अधिकारीले रोकेको सनाले बताएकी हुन्।

कोरोना महामारीका समयमा आफूले खिचेको तस्वीरका कारण पुलित्जर पुरस्कार विजेता बनेको र सोही पुरस्कार लिनका लागि समारोहमा भाग लिन जाँदै गर्दा अध्यागनका अधिकारीले रोकेको उनको भनाइ छ।

म्याद रहेको भिसा र टिकट हुँदा पनि आफूलाई देशबाहिर जान नदिइएको उनले बताइन्। आफूलाई रोक्नुको कारण पनि अध्यागनका अधिकारीहरूले नखुलाएको उनको गुनासो छ। चार महिनाको अवधिमा आफूलाई दोस्रो अध्यागमनका अधिकारीले रोकेको उनको भनाइ छ। सनालाई देशबाहिर जान रोकेको बारे भारत सरकारले कुनै प्रतिक्रिया दिएको छैन।

गत मार्चमा पनि पत्रकार एवं वासिंगटन पोस्टकी स्तम्भकार राना अयुवलाई बेलायतमा अन्तर्राष्ट्रिय पत्रकार केन्द्रको कार्यक्रममा जाँदै गर्दा मुम्बई विमानस्थलमा रोकिएको थियो। पछि दिल्ली उच्च अदालतले उनलाई जान अनुमति दिएको थियो।

त्यस्तै, अप्रिलमा मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल भारतका प्रमुख अकार पटेललाई समेत अमेरिका जाँदै गर्दा दुई पटकसम्म बेंग्लुरु विमानस्थलमा रोकिएको थियो। पटेलले कार्यकाल रहँदा भारतको विदेशी मुद्रा विनिमय कानून उल्लंघन गरेको आरोपमा अनुसन्धान चलिरहेका भन्दै उनलाई विदेश जान रोक लगाइएको थियो। पछि अदातलतले उनलाई अनुमतिबिना विदेश यात्रा नगर्न आदेश दिएको थियो।

त्यसपछि अगस्टमा समेत एमी अवार्डको मनोनयनमा परेका भारतीय मूलका अमेरिकी पत्रकार अंगत सिंहलाई दिल्ली विमानस्थलमा अवतरण गरेलगत्तै न्यूयोर्क फिर्ता पठाइएको थियो।