सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

काठमाडौँ– नाबालिग बलात्कारको अभियोगमा जेलमा रहेका पूर्वक्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ। लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको हो।

बिहीबार न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतका प्रवक्ता दिनेश पौडेलका अनुसार लामिछानेलाई शर्तसहित धरौटीमा छाड्ने आदेश दिइएको हो। अदालतले लामिछानेको राहदानी रोक्का राखेकाले विदेश जान पाउने छैनन्।

मुद्दाका विषयका सामाजिक सञ्जालमा समाचार सम्प्रेषण गर्न र विचार राख्न नपाउने, जाहेरीवालालाई कुनै पनि किसिमको धाक धम्की दिन नपाउने, काठमाडौँ बाहिरका जिल्लामा जाँदा जिल्ला प्रहरी कार्यालयलाई पूर्वजानकारी दिनुपर्ने शर्त रहेको उनले बताए।

नाबालिग जबरजस्ती करणी अभियोगमा कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि सुनधारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको थियो। जिल्लाको आदेशविरुद्ध लामिछानेले पुनरावेदनको मुद्दा दर्ता गरेका थिए।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै नाबालिगले भदौ २१ मा प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीको अनुसन्धानपछि कात्तिक १४ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाट क्षतिपूर्ति भराउन माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ।