रुसले अतिक्रमण गरेका युक्रेनी भूमिमा सैन्य कानून लागू

सैन्य कानून लागू हुँदा कर्फ्यू लाग्नुका साथै नागरिकको घर तथा सम्पत्ति जफत् गर्ने र स्रोत परिचालन गर्ने अधिकारसमेत सेनालाई हुन्छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।

रुसले अतिक्रमण गरि आफ्नो देशमा गाभेका युक्रेनका चारवटा क्षेत्रमा सैन्य कानून लागू गरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट अतिक्रमण गरेर आफ्नो देशमा गाभेका दोनेत्स्क, लुहान्स्क, खेर्सन र जापोरिजिया क्षेत्रमा बिहीबारदेखि सैन्य कानून लागू गरेका हुन्। साथै, रुस–युक्रेन सीमा क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

रुसले गत महिना जनमत संग्रहमार्फत ती भूमिलाई आफ्नो देशमा गाभेको थियो। तर, रुसको पक्षमा मतदान गर्न सर्वसाधारणलाई बाध्य पारी जनमत संग्रह भएको भन्दै युक्रेन र अन्तर्राष्ट्रिय समुदायले रुसी दाबी अस्वीकार गरेका छन्।

सैन्य कानून लागू भएका ती क्षेत्रमा सर्वसाधारणको आवागमन र क्रियाकलापमाथि हस्तक्षेप हुन्छ। कर्फ्यू लागू गर्दै स्वतन्त्र हिँड्डुलमा रोक र सञ्चार सेवामा समेत निगरानी गरिन्छ। यस्तै, सर्वसाधारणलाई क्षतिग्रस्त शहरको पुनःनिर्माणका काममा खटाउनेसमेत गरिन्छ। रुसमा सैनिक कानून लागू हुँदा नागरिकको घर तथा सम्पत्ति जफत् गर्ने र स्रोत परिचालन गर्ने छुटसमेत सेनालाई हुन्छ।

रुसले कब्जा गरेका क्षेत्रमा सैनिक कानून लागू भएपछि युक्रेनमा पुनः क्षेप्यास्त्र आक्रमणको त्रास बढेको भन्दै युक्रेनी सर्वसाधारणलाई सतर्क रहन भनिएको छ। युक्रेनको राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनेर्गोले फोन, ब्याट्री, टर्चलाइट, पावर ब्यांकलगायत विद्युतीय उपकरण चार्ज गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ग्रिड अपरेटर युक्रेनेर्गोले बिहीबार मुलुकभर लगातार ४ घण्टासम्म विद्युत् आपूर्ति ठप्प हुने भन्दै विद्युतीय उपकरण चार्ज गर्न आग्रह गरेको हो। युक्रेनेर्गोले नागरिकलाई पानी, न्यायो लुगा तथा ब्लांकेट्सको जोहो गर्नसमेत आग्रह गरेको छ।

रुसले अक्टोबर १० तारिखयता युक्रेनका ऊर्जा केन्द्रलक्षित श्रृंखलाबद्ध आक्रमण गरिरहेको छ। त्यसयता युक्रेनमा अधिकांश क्षेत्रको विद्युत् आपूर्तिमा समस्या छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसले बुधबार पनि युक्रेनी ऊर्जा केन्द्रहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

युक्रेनेर्गोका अनुसार युक्रेनमा युद्ध सुरू भएयता ऊर्जा क्षेत्रमा भएका आक्रमणहरूको तुलनामा पछिल्ला १० दिनमा सबैभन्दा बढी आक्रमण भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हवाई आक्रमणबाट युक्रेनका ३० प्रतिशत ऊर्जा केन्द्रहरूमा क्षति पुगेको बताएका छन्।