धरौटी रकम बुझाएर थुनामुक्त भए सन्दीप लामिछाने

सन्दीप लामिछाने उच्च अदालत पाटनको आदेशपछि धरौटी रकम बुझाएर थुनामुक्त भएका छन्।

काठमाडौँ– बलात्कार अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने धरौटीको रकम बुझाएर थुनामुक्त भएका छन्। उच्च अदालत पाटनले बिहीबार लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो।

न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले धरौटीमा थुनामुक्त गर्न आदेश गरेको थियो। जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो।

शुक्रबार लामिछानेको परिवारले धरौटीको रकम बुझाएपछि कानूनी प्रक्रिया पूरा गरेर उनी थुनामुक्त भएका हुन्। लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले उनी २० लाख धरौटीमा अदालतको शर्त मान्ने गरी थुनामुक्त भएको बताए।

"सन्दीप २० लाख धरौटीमा अदालतको शर्त मान्ने शर्तमा रिहा भएका छन्। बाहिरबाट उनले अब बाँकी मुद्दा लड्नेछन्।" उनले लामिछाने शारीरिक रूपमा स्वस्थ रहे पनि डिप्रेसनको संकेत देखिएपछि काउन्सिलिङ गरिरहेको बताए।

लामिछाने थुनामुक्त भएपछि जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिएर मात्र उपत्यका छाड्नुपर्ने लगायतका शर्त पूरा गर्नुपर्ने अदालतको आदेश उल्लेख छ।

लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप छ। उनीविरुद्ध गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो। सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो। प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।

 तस्वीरहरू : अमित मचामसी र न्युज एजेन्सी नेपाल