एकीकृत समाजवादी प्रवेश गर्दै भुसालले भने- ओलीवादले कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्‍यो

नेता घनश्याम भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँड्नेबाहेक एमालेका नेताले केही गर्न नसकेको बताएका छन्।

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हाबी हुँदा मुलुकको कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दाबी गरेका छन्।

शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी हुँदा कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताएका हुन्।

"ज्ञान, विज्ञान, तर्क, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गयो। यो कुनै गालीगलौज गरेको छैन", उनले भने, "म बहस गर्न तयार छु। बहस गर्दै पनि आइएको छ।"

नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको दोहोर्‍याए।

उनले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा पहिल्यै थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दीपक बोहोरालाई उम्मेदवार बनाएपछि पार्टी परित्याग गर्नुपरेको स्पष्टीकरण दिए। प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भएका थिए।

नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा एकीकृत समाजवादीले मात्रै गर्न सक्ने भएकाले पार्टीमा प्रवेश गरेको तर्क गरे।

उनले जनताको बहुदलीय जनवादबारे एक लाइन पनि लेख्न सक्ने क्षमता एमालेका नेतासँग नरहेको जिकिर गरे। जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँड्नेबाहेक एमालेका नेताले केही गर्न नसकेको उनको भनाइ छ।