काठमाडौँ महानगरको पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन

काठमाडौँ महानगरले दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। शुरूमा दुवैलाई काम भ्याउन मुस्किल थियो। अहिले एउटा बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन। 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन भएको छ।  

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै महानगरले असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरूप समाधान हुने गरेको थियो। अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए।  

उनका अनुसार अहिले सडकको खाल्डो पुर्न नगन्य मात्रै गुनासो आउँछ। त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउँछ। नागरिकले महानगरको टोल फ्री नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छाडेका छन्।  

वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको थियो। तत्कालको समयमा दुवैलाई काम भ्याउन मुस्किल थियो। अहिले एउटा बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन। 

महानगर क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोको तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो। बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको प्रमुख थापाले बताए। आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले पूर्वाधार एम्बुलेन्सले काम नपाएको उनको भनाइ छ। महानगरका इन्जिनियर र कामदारसहित तीन जनाको टोली टोल–टोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन्। अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको उनले बताए। दिउँसो सडकमा मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि महानगरले बिहान र साँझमात्र मर्मत गर्न थालेको छ। 

त्यसैगरी सडक सफा राख्न महानगरको यान्त्रिक कुचो ९ब्रुमर० नियमित सञ्चालनमा छ। हाल छ यान्त्रिक कुचो सञ्चालनमा छन्। फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापनजस्ता काम अहिले नियमित भइरहेको महानगरले जनाएको छ।