जासुसीको अभियोगमा पूर्व रक्षा अधिकारी अकबरीलाई इरानले दियो मृत्युदण्ड

अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई अमेरिकाले ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ।

इरानले बेलायतका लागि जासुसी गरेको अभियोगमा आफ्नो देशको रक्षा मन्त्रालयका निम्ति कुनै समय काम गरेका एक जना अधिकारीलाई मृत्युदण्ड दिइएको बताएको छ। राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा चर्को विरोधका बाबजुद इरानले उनलाई मृत्युदण्ड दिएको हो।

भूतपूर्व रक्षा अधिकारी अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर संस्था एमआई–६ का निम्ति जासुसी गरेकाले फाँसी दिएको इरानले शनिबार घोषणा गरेको हो। उनले इरान र बेलायतको दोहोरो नागरिकता लिएका थिए।

गत बुधबार अकबरीको परिवारलाई उनलाई भेट्न कारागारमा जान भनिएको तथा उनकी श्रीमतीले एकान्त कारागारमा आफ्ना पतिलाई सारिएको बताएकी थिइन्। अकबरीलाई तीन वर्षअघि पक्राउ गरिएको थियो। जासुसीको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो। तर, सबै आरोपको उनले अस्वीकार गरेका थिए।

बेलायतले इरानलाई मृत्युदण्ड रोक्न तथा उनलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो। बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले मृत्युदण्डको सजाय मानव जीवनलाई पूर्ण रूपमा बेवास्ता गर्ने बर्बर शासनद्वारा राजनीतिक रूपमा प्रेरित काम भएको टिप्पणी गरेका थिए।

अमेरिकाले पनि इरानको उक्त कदमको आलोचना गरेको छ। अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ।