नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्क्याउने, ढाल्ने विषयमा मात्रै केन्द्रित भएको बताए।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरूको अखडाजस्तो भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति संकेत गर्दै महामन्त्री थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्क्याउने, ढाल्ने विषयमा मात्रै केन्द्रित भएको जिकिर गरे।

"नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूको अखडाजस्तो भयो", उनले भने, "… मंसिर ४ गतेबाट यहाँसम्म आइपुग्दा कुनचाहिँ भूतपूर्व प्रधानमन्त्रीले कुनचाहिँ भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्नु भयो भन्नेबाहेक हामीले पढेको, सुनेको, बजाएको समाचार सुन्नै परेन।"

उनले निर्वाचनताका पूर्वप्रधानमन्त्रीबीचको 'झेलबाट जोगाउन २/४ दिन भए पनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु' भनेको स्मरण गरे।

महामन्त्री थापाले दलमा पूर्वप्रधानमन्त्रीहरूले आफ्नो अकण्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेको उल्लेख गर्दै यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा राखे।

उनले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसद्मा सबै राजनीतिक दलका सांसदले मिलेर बहसलाई अघि बढाउनुपर्ने सुझाव दिए।