कांग्रेसको कदमले ‘सचेत’ एमाले

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले सत्तागठबन्धनभित्र खेल्न खोजेको निर्क्योलमा पुगेको गठबन्धनको प्रमुख घटक एमाले त्यसबाट सशंकित मात्र छैन, नेताहरूका भनाइमा ‘सचेत’ पनि बनेको छ।

काठमाडौँ– नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि राजनीतिक वृत्तमा पैदा भएको हलचल अझै साम्य भएको छैन। बरु यसलाई राजनीतिमा ‘नयाँ कोर्स’ निर्माण गर्ने प्रयत्नका रूपमा चर्चा भइरहेको छ र त्यसको नतिजा चाँडै देखिने अड्कलबाजी पनि हुन थालेको छ।

दाहाल नेतृत्वको सरकारसँग १६९ सांसदको बहुमत हुँदाहुँदै कांग्रेसले समेत अस्वाभाविक रूपमा विश्वासको मत दिएको विषयले सत्तागठबन्धनको प्रमुख दल नेकपा एमालेमा पनि संशय उत्पन्न गराएको छ। मूलतः एमालेकै वरिपरि ‘गोलबद्ध’ नयाँ समीकरणबाट प्रधानमन्त्री बनेका दाहाललाई कांग्रेसले विश्वासको मत दिनु सत्ता समीकरण नै बदल्ने प्रयत्न त होइन भन्ने आशंका एमालेपंक्तिमा गर्न थालिएको छ। कांग्रेसको यो कदमले एमालेलाई रक्षात्मक अवस्थामा पुर्‍याइदिएको टिप्पणी भइरहँदा एमाले नेताहरू कांग्रेसको कदमलाई लिएर आफूहरू सचेत बनेको बताउँछन्।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली कांग्रेसले विश्वासको मत दिँदैमा संशकित हुने अवस्था नभए पनि सचेत हुनुपर्ने बताउँछन्। “राष्ट्रपतिको चुनावमा संसद्मा रहेका अरू पार्टी वा माओवादीलाई नै प्रयोग गर्न सकिन्छ कि भनेर कांग्रेसले च्याँखे दाउ मात्र थापेको अवस्था हो यो”, ज्ञवालीले भने, “दुई अध्यक्ष (एमाले र माओवादी)बीच प्याकेजमै सहमति भएर नयाँ समीकरण बनेको हो। त्यसैअनुसार कार्यान्वयन हुन्छ। अहिले नै शंकाचाहिँ गरिनहालौँ।”

एमालेको पहलमा बनेको गठबन्धन सरकारले संसद्मा रहेका सबै दलसँग विश्वासको मतका लागि आग्रह गर्ने निर्णय गरेको थियो। तर, एमालेले अहिलेको अवस्थामा कांग्रेसले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमा थोरै मात्र पनि विश्वास गरेको थिएन। 

तर, कांग्रेस एकाएक त्यसका लागि तयार भयो। कांग्रेसभित्र यसलाई लिएर तीव्र असहमति देखापरे पनि पार्टीले विश्वासको मत दिने भनेर निर्णय नै गरेपछि एमाले त्यहीबेलै झस्किएको थियो। कांग्रेसको यस्तो कदमपछि वर्तमान सत्तागठबन्धनलाई अझ कसिलो बनाएर लैजान एमाले सक्रिय भएको देखिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालबीच त्यसयता निरन्तर भेटवार्ता भइरहेका छन्।

दाहालले शनिबार बिहान मात्र पनि बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए। शनिबार दिउँसो भने उनले सम्पादकसँग छलफल राखेका थिए। त्यो छलफलमा पनि यो विषय उठेपछि दाहालले ‘यसबारेमा टिप्पणी गर्न लगाएर अप्ठेरोमा नपार्न’ आग्रह गरेका थिए।

एमाले उपाध्यक्ष ज्ञवाली कांग्रेसको ‘मूभ’पछि ढुक्क भएर बस्नेभन्दा पनि अहिलेको सहकार्यलाई विश्वसनीय र एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताउँछन्। उनले पाँच वर्ष नै वर्तमान गठबन्धनको सरकार चलाउने दिशामा केन्द्रित हुनुपर्ने बताए।

आफ्नो नेतृत्वको गठबन्धन कायम रहेकै बेला माओवादी केन्द्रलाई सरकारको नेतृत्व सुम्पन कांग्रेस तयार नभएपछि कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन भत्किएको थियो। त्यसपछि पुस १० गते एमालेको नेतृत्वमा नयाँ समीकरण बनेपछि कांग्रेसभित्र ठूलो खैलाबैला नै निम्तिएको थियो। दाहाल प्रधानमन्त्री बनेपछि कांग्रेसले पुरानो सहकार्यलाई अघि बढाउन सहज होस् भन्ने उद्देश्यले विश्वासको मत दिएको बुझाइ कतिपय नेताहरूको छ। यस्तो अवस्थामा एमालेले तत्काल देखा पर्न सक्ने अवस्था र पछि समीकरणमा फेरबदल हुन सक्ने दुवैखाले अवस्थालाई आकलन गरेर अघि बढ्ने रणनीति तय गरेको देखिन्छ।

एमालेका एक पोलिटब्युरो सदस्य परिस्थितिले एमाले र माओवादीलाई पुनः सहकार्य गर्न बाध्य पारे पनि दुवै पार्टीभित्र विश्वासको वातावरण बन्न समय लाग्ने बताउँछन्। कांग्रेसको पछिल्लो मूभले पनि केही आशंका जन्माएको उनको भनाइ छ। “माओवादीले पनि कांग्रेसलाई विश्वासको मत दिन लगाएर आफ्नो नेतृत्वको सरकारलाई बलियो बनाउन खोजेको हो। एमाले यो निर्णयबाट सचेत बन्नै पर्छ”, उनी भन्छन्, “न्यूनतम साझा कार्यक्रम ल्याएर सहमतिकै आधारमा अघि बढिसकेकाले अहिले नै कुनै दलले एकअर्कालाई धोका दिने अवस्था त छैन, तैपनि हामीले हरेक कुरालाई सचेत रूपमा हेर्नुपर्छ।”

एमालेको सहयोगमा प्रधानमन्त्री बनेकाले सरकार सञ्चालनमा एमालेको दबाब हाबी हुने आकलन गरी दाहालले कांग्रेसको पनि मत लिएर एमालेलाई दबाबमा राख्न खोजेको एकथरिको बुझाइ छ।

एमाले अध्यक्ष ओलीनिकट मानिने उपमहासचिव विष्णु रिमाल पनि कांग्रेसले विश्वासको मत दिएको विषयलाई उसको दाउपेचका रूपमा बुझ्छन्। “विश्वासको मत दिएपछि अहिलेको समीकरणभित्र खेल्न सकिन्छ कि भन्ने उसको दाउपेच देखिन्छ”, रिमालले भने, “त्यस्तो दाउपेचको कुनै अर्थ छैन। कांग्रेसले खेल्न खोज्यो भने एमालेले त्यसलाई फेल गराउँछ। हामीले त्यही रूपमा कांग्रेसको कदमलाई हेरेका छौँ।”

उनले न्यूनतम साझा कार्यक्रम तय गरेर वर्तमान सरकार निर्माणको आधार तय भएको भन्दै कांग्रेसले गर्न सक्ने हरेक ‘मूभ’मा आफूहरू सचेत रहेको बताए। र, अहिलेको समीकरणमा कुनै समस्या नआउने दाबी गरे। “हामीसँग प्रष्ट बहुमत छ। कांग्रेसले जस्तोसुकै कदम चाल्न खोजे पनि सफल हुँदैन”, रिमालले भने, “दुई पार्टी (एमाले र माओवादी)का अध्यक्षसहित अन्य सत्तासाझेदार दलसमेतको सहभागितामा सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर हामी अघि बढेका छौँ। यसलाई पूर्ण कार्यान्वयन गरेर लैजान्छौँ।”

कांग्रेसले अब हुने सभामुख र राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनलाई ध्यानमा राखेर सरकारलाई समर्थन गरेका दल र अरू दलसँग पनि संवाद गर्ने निर्णय गरिसकेको छ। यी प्रमुख पदको निर्वाचनलाई आफ्नो पक्षमा पार्न सहज होस् भनेर नै विश्वासको मत दिएको कांग्रेस नेताहरूले सार्वजनिक रूपमै बताइरहेका छन्। कांग्रेसले समेत विश्वासको मत दिएपछि माओवादी केन्द्र र खासगरी प्रधानमन्त्री दाहालले अर्को कुनै खेलमा लाग्न सक्ने आशंका एमालेमा देखिएको छ।

माओवादी नेताहरू भने वर्तमान गठबन्धनमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताउँछन्। माओवादी केन्द्रका सचिव शक्ति बस्नेत कांग्रेसले विश्वासको मत दिँदैमा आशंका गर्नुपर्ने अवस्था नरहेको बताउँछन्। “एमाले–माओवादीसहितको सहकार्य जसरी बनेको छ, यसमा दायाँ–बायाँ हुने अवस्था नै रहँदैन”, उनले भने, “कांग्रेसले पनि मत दिँदा त झन् सहमतिको दायरा फराकिलो बनेको छ भनेर बुझ्नु पर्छ।”

कांग्रेसले अहिलेको समीकरणभित्रै खेल्न सक्ने आकलन गरेर हुनसक्छ, एमालेले माओवादीसहितका सत्तासाझेदार दलहरूबीचको संवादलाई तीव्र बनाएको छ।

“कांग्रेसले विश्वासको मत दिएर के सन्देश दिन खोजेको हो भन्ने हामीलाई राम्रोसँग थाहा छ। हामी पनि अहिले बनेको समीकरणलाई कसरी मजबुत बनाएर लैजाने भन्नेमा सचेत छौँ”, एमालेका एक पदाधिकारी भन्छन्, “कांग्रेसले कुनै सपना देखेको छ भने त्यो कहिले पूरा हुँदैन। यसमा एमाले चनाखो छ।”

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे तथ्य के हो भन्ने माघ ५ मा सभामुखको निर्वाचनबाट पुष्टि भइसक्ने बताउँछन्। कांग्रेसले विश्वासको मत दियो भनेर आशंकित हुनुपर्ने अवस्था नरहेको उनले बताए। “आशंकित हुनुपर्ने अवस्था नै छैन, तथ्यले सबै कुरा प्रष्ट पारिहाल्छ। संयन्त्रको बैठक बसेर सबैलाई विश्वासको मत दिन भनेर अपिल गरेकै थियो, त्यहीअनुसार विश्वासको मत प्राप्त भएको छ”, उनले भने, “भविष्यमा के के हुन्छ भन्ने कुरा नेताहरूले गरेको भए एउटा कुरा, अहिले नै आशंका गर्नु आवश्यक छैन।”