दुर्घटनाग्रस्त विमानकी को–पाइलट अञ्जु : १६ वर्षअघि दुर्घटनामै गुमाएकी थिइन् पाइलट श्रीमान्

श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्। दुर्घटनामा परेर श्रीमानको मृत्यु भएको १६ वर्षपछि उनी पनि दुर्घटनामा परेकी छन्।

पोखरामा भएको दुर्घटना (बायाँ) र को-पाइलट अञ्जु।

काठमाडौँ- पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्य पनि परेका छन्। विमानको पाइलट कमल केसी र को-पाइलट अञ्जु खतिवडा थिए। परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए।

को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को-पाइलट नै थिए। उनी यती एयरलाइन्समै कार्यरत थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा उनको निधन भएको थियो।

२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो। सोही दुर्घटना कोपाइलट पोखरेलको निधन भएको थियो।

श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्।

अञ्जु २०३४ सालमा मोरङको विराटनगर (हालको वडा नं.५)मा जन्मिएकी थिइन्। विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार विमान दुर्घटनामा श्रीमान् दीपकको मृत्यु भएको सात वर्षपछि उनले दोस्रो विवाह गरेकी थिइन्।

पहिलो श्रीमानतर्फ मञ्जुको २१ वर्षीया छोरी छन्। उनी हाल क्यानडा बस्छिन्। दोस्रो श्रीमानबाट एक छोरा छन्। दोस्रो विवाहपछि उनी काठमाडौँ बस्दै आएकी थिइन्।