आलोचनापछि प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगित

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगन गरिएको बताए।

काठमाडौँ– यती एयरलाइन्सको विमान दुर्घटना भएपछि दुर्घटनास्थल अवलोकनका लागि पोखरा जाने निर्णय गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा जाने कार्यक्रम स्थगित गरेका छन्।

विमान दुर्घटनाको खबर आउनसाथ प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछाने पोखरा जानलागेको उनीहरूको सचिवालयले सञ्चारमाध्यमलाई जानकारी गराएका थिए। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर प्रधानमन्त्री र गृहमन्त्रीले उद्धारबारे जानकारी लिएका थिए।

त्यसपछि मन्त्रिपरिषद् बैठक सकेर पोखरा जाने कार्यक्रम तय गरिएको थियो। तर, प्रधानमन्त्री पोखरा जाने निर्णयको सामाजिक सञ्जालमा आलोचना भएको थियो।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगन गरिएको बताए। “भीआइपीको सवारी हुँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावको आधारमा प्रधानमन्त्री पोखरा जाने कार्यक्रम स्थगित भएको छ”, मल्लले भने।