विमान दुर्घटनाको खबरले स्तब्ध छु: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीले ट्विट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन्।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनाको खबरले स्तब्ध भएको बताएकी छन्। आइतबार बिहान चालक दलका चार सदस्यसहित ७२ जना सवार विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो।

राष्ट्रपति भण्डारीले ट्विट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन्।

“यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु। दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, राष्ट्रपति भण्डारीले ट्विटरमार्फत जारी गरेको शोक-सन्देशमा भनिएको छ।

यती एयरलाइन्सको विमान आइतबार बिहान साढे १० बजेतिर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। अन्यको उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। जसमध्ये ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रुसका, दुई जना कोरियाका आयरल्यान्ड, अर्जेन्टिना, अस्ट्रेलिया र फ्रान्सका एक/एक जना यात्रु थिए।