यती विमान दुर्घटना : ११ शवको सनाखत

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान खुलेको छ।

पोखरा– यती एयरलायन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका ११ जनाको पहिचान खुलेको छ। पोखरास्थित गण्डकी अस्पतालमा राखिएका शवको आफन्तले सनाखत गरेका हुन्।

गण्डकी अस्पतालका अनुसार सनाखत हुनेमा निशान्त आचार्य, संगीता शाही, डा. शुसिल श्रेष्ठ, डा. सोना दिनकर, सदाकत अलिमियाँ, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, अरुण पौडेल रहेका छन्। यस्तै, पूर्णककुमार गुरुङ र १० महिने बालक रियान पौडेल, कोरियाली नागरिक यु केयुंगलको पनि सनाखत भएको छ।

हालसम्म गण्डकी अस्पताल ३८ शव पुर्‍याइएको छ। दुर्घटनास्थलबाट ६८ शव निकालिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चालक दलका चार सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सको विमान आइतबार बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो।

काठमाडौँबाट बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ विमान पोखरा टावरसँग सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र त्यसपछि दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ।