यतीको विमान दुर्घटनामा ६९ जनाको मृत्यु पुष्टि

यती एयरलाइन्सको विमान दुर्घटनामा मृतकको संख्या ६९ पुगेको छ। विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए।

काठमाडौँ– पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६९ पुगेको छ।

यती एयरलाइन्सले विमान दुर्घटनामा हालसम्म ६९ जनाको मृत्यु पुष्टि भएको जनाएको हो। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका तर्फबाट जारी विज्ञप्तिमा तीन जनाको उद्धार कार्य जारी रहेको उल्लेख छ।

आइतबार बिहान १०:३२ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान अवतरण गर्नुअघि दुर्घटनाग्रस्त बनेको थियो। पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो।

विमानमा चार जना चालकदलका सदस्यसहित ७२ जना सवार थिए। जसमध्ये ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रसियन, दुई जना कोरियन र अर्जेन्टेनी, अस्ट्रेलियन, आईरिस र फ्रान्सेली नागरिक एक/एक जना थिए।

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। उद्धार गरिएका शवहरू पोखरास्थित गण्डकी अस्पताल लगिएको छ। अस्पतालले अहिलेसम्म ११ शवको सनाखत भएको बताएको छ।

दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ। विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता बर्तौलाले जानकारी दिए। 

विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छानबिनका लागि पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, सरकारले सोमबार शोक बिदा दिएको छ।