आइतबार साँझ क्याप्टेन कमल केसी र को–पाइलट अन्जु खतिवडाको घरमा पुग्दा आफन्तजन उनीहरू सकुशल भेटिने आशामै थिए। सरकारले दिउँसै शोक–बिदा घोषणा गर्दा मर्माहत उनीहरू उत्तिकै आक्रोशित पनि थिए।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको ९ एन एनसी एटीआर ७२ जहाज अवतरणका लागि अनुमति पाइसकेपछि १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलनजिकै सेती नदीको खोँचमा दुर्घटनामा पर्यो।
जहाज दुर्घटनामा परेको खबर सरकारी संयन्त्रले थाहा पाउनुपूर्व नै सामाजिक सञ्जालमार्फत तत्काल सर्वत्र फैलिएको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाज दुर्घटनाबारे प्रत्यक्ष जानकारी दिइरहँदा सरकारी संयन्त्र त्यतिञ्जेल बेखबर जस्तै थियो। लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दुर्घटनास्थल त पुगे, तर उद्धारमा धेरै कठिनाइ भयो।
कारण, एक त दुर्घटनास्थल सेतीको खोँचमा निकै अप्ठेरो ठाउँमा थियो। त्यसमाथि दुर्घटनास्थलमा रमितेहरूको अनियन्त्रित भीड जम्मा भएको थियो। यसरी शुरू भएको उद्धार कार्य चलिरहँदा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दिउँसो २ बज्दा नबज्दै अनौठो निर्णय गर्यो। त्यतिञ्जेल उद्धार चलिरहेको थियो, दुर्घटनाग्रस्त विमानमा सवार यात्रु जीवितै फेला पर्ने आशा परिवारजनमा कायमै थियो। तर, त्यहीबेला मन्त्रिपरिषद्ले यसलाई शोक घोषणा गर्यो र सोमबार शोक बिदा दिने निर्णय गर्यो।
दुर्घटना भएको विमान क्याप्टेन कमल केसीले उडाएका थिए। आइतबार बेलुकी करिब ७ बजे हामी उनको काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित इटारीटारमा रहेको घरमा पुग्दासम्म केसीको परिवार उनी जीवितै भेटिने आशामा थियो। तर, सरकारले शोक बिदा दिने निर्णय गरेको थाहा पाएपछि परिवारजनमा पीडा थपिएको थियो।
केसीको घरमै भेटिएका उनका नातेदार कोशराज केसीले भने, “हामीलाई अहिले पनि उहाँ सकुशल भेटिनुहुनेछ भन्ने आशा छ। उद्धारकार्य नसकिएसम्म आस मार्न सकिन्न। सरकारले भने पहिल्यै सबै चालक दलका सदस्य र यात्रुलाई मारिसक्यो। उद्धार कार्य नसकिँदै शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गर्यो। यसले हामीलाई झन् ठूलो पीडा दिएको छ।”
कोशराजले यति ठूलो दुःखका बेला प्रभावकारी उद्धारमा केन्द्रित भएर परिवारलाई सान्त्वना दिनुपर्ने बेला सरकारले पीडा दिएको बताए।
केसीकी श्रीमती, छोरा र छोरी सरकारको यो व्यवहारले झन् मर्माहत छन्। “यतिका समय उहाँ (कमल केसी)ले यो क्षेत्रमा काम गर्नुभयो। यस्तो अवस्था आउला भन्ने सोचेका थिएनौँ। सरकारले हामीलाई पीडामाथि पीडा थुपार्ने काम गर्यो”, केसीका अर्का नातेदार मनोज केसीले भने।
प्रहरीले राति पनि उद्धार कार्यलाई जारी राख्ने भनेकाले आफूहरूले अझैँ जीवितै भेटिने आशा नमारेको उनले बताए।
पाइलट केसी ६० वर्षमा लागेका थिए। नेपालमा पाइलटको ६५ वर्ष उमेरहद छ। मनोजका अनुसार कमलले अर्को वर्ष स्वैच्छिक अवकाश लिने तयारी गरेका थिए। अमेरिकाबाट पाइलट पढेर आउनसाथ २०४६ सालमा नेपाली आकाशमा विमान उडाउन थालेका केसीले शुरूमा नेपाल एयरलाइन्सका विमान उडाएका थिए।
त्यसपछि यती एयरलाइन्समा आबद्ध भएका थिए। “पाइलटलाई पनि प्रशिक्षण दिनुहुन्थ्यो। यस्तो घटना सुन्दा हामीलाई पत्यार नै लागेको छैन”, मनोजले भने।
कमलको पुर्ख्यौली घर कास्कीको रूपा गाउँपालिकामा हो। अहिले पोखरा महानगरपालिका वडा नम्बर–३, तेर्सापट्टिमा उनको घर छ। त्यहाँ उनका बुवा आमा, दुई भाइ र एक बहिनी बस्छन्। कमल परिवारको जेठो छोरा हुन्।
उनका एक भाइ डाक्टर छन्। अर्को भाइ इन्जिनियर हुन्। जहाज दुर्घटना भएको खबर पाउनासाथ पोखरामा रहेका उनीहरू सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। काठमाडौँ इटारीटारमा रहेको घरमा कमल श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन कमलले नै सिनियर पाइलटको रूपमा डेमोसमेत गरेका थिए। तर, कमलले नै चलाएको जहाज दुर्घटना भएको परिवारले पत्याउन सकेका छैनन्।
पुरानो बानेश्वरमा पीडा र आक्रोश
उद्धार कार्य चलिरहेकै बेला परिवारजन जहाजमा परेका आफन्त आउने आशामा बसिरहँदा सरकारले गरेको शोक बिदा दिने निर्णयले सो विमानका को–पाइलट अन्जु खतिवडाको घरमा पनि थप पीडा दिएको रहेछ। आइतबार बेलुकी हामी काठमाडौं महानगरपालिका वडा नम्बर ९, पुरानो बानेश्वरस्थित उनको घरमा पुग्दा खतिवडाका परिवारजन र आफन्त पीडासँगै आक्रोशमा देखिए।
खतिवडाका नातेदार कृष्णमोहन कोइरालाले सरकारले अपरिपक्व र हदैसम्म असुहाउँदो व्यवहार गरेको बताए। “हामीलाई हाम्रो मान्छे अझै जिउँदै छन् भन्ने झिनो आस छ। के भएको हो भन्नेबारे हामीलाई कुनै आधिकारिक जानकारी आएको छैन। उद्धार भइरहेको छ। तर, सरकारले दिउँसै शोक घोषणा गरिसक्यो”, कोइरालाले भने।
कोइरालाले दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने जानकारी आउनुअघि नै नै शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गर्नुले सरकार हदैसम्म असंवेदनशील रहेछ भन्ने देखाएको उनले बताए। “डाक्टरले घोषणा नगरेसम्म के आधारमा सरकारले यस्तो निर्णय गर्यो, हामी अचम्ममा परेका छौँ”, उनले भने।
खतिवडाकी नातेदार सरला खतिवडाले पनि सरकारको यो निर्णयले आफूहरूलाई थप पीडा दिएको बताइन्। “दुर्घटनामा परेकाहरूको अझैँ सबैको उद्धार भएको छैन। हामीलाई अझैँ आस छ। तर, सरकारले हतार गरेर शोक घोषणा गर्यो”, उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
