आठ वर्षमा आठौँपटक ठेक्का अवधि थप्दा पनि ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरेको छैन।
भक्तपुर– सडकको बीचबीचमा खाल्डै खाल्डो। कतै कालोपत्र गर्ने तयारी गरेर यसै छाडिएको छ भने कतै पर्खाल भत्किएर सडक नै पहिरोको जोखिममा छ। कतै कुलो र कलभर्ट पुरिँदा सडकबाटै पानी बगेको छ। आठ वर्षदेखि स्तरोन्नति सुरु भएर अझै निर्माण सम्पन्न नभएको भक्तपुर नगरकोट सडक खण्डको बेहाल छ।
भदौ १५ गते बिहान ८ बजे चाँगुनारायण नगरपालिका कार्यालय पुगेका मेयर जीवन खत्री, उपमेयर रमेश बुढाथोकीसहितको टोली भक्तपुर(नगरकोट सडकको अनुगमनमा निस्कियो। त्यसअघि क्रममा मेयर खत्रीले भने, “जनताले धेरै दुःख पाइसके, अब जेसुकै होस् सहेर बसिन्न, आज सडकको अनुगमन गरौँ, दुई महिनाभित्र सडक निर्माण सम्पन्न नभए ठेक्का रद्द गर्न नगरपालिकाले नेतृत्व गर्छ।”
उपमेयर बुढाथोकी पनि मेयरसँग सहमत थिए। उनले भने, “मङ्सिरमा चुनाव आउन लाग्यो, त्यही भएर जनतालाई देखाउन नगरपालिका अगाडि सर्यो भन्लान्, अब सडक निर्माण सम्पन्न गराएर जनतालाई देखाउने नै हो।” नगरपालिकाको टोली खरिपाटीस्थित आयोजनाको कार्यालयमा रहेका सडक निर्माणको ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अनुप अधिकारीलाई सँगै लिएर अनुगमनमा निस्कियो।
कहाँ के के हुँदैछ, कहाँ के कति काम भइरहेको छ, के गर्नुपर्नेछ मेयर खत्रीले त्यसको जानकारी अधिकारीसँग लिए। “अन्तको काम छाडेर भए पनि यहाँ काम गर्नुस्, अबको दुई महिनाभित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनैपर्छ, नत्र नगरपालिका ठेक्का रद्द गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौँ”, म्यानेजर अधिकारीलाई निर्देशन दिँदै खत्रीले भने, “सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकैपटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइँदैन ।”
मेयर खत्रीले नगरकोट बसपार्क पुगेपछि स्थानीय र पर्यटन व्यवसायीसँग छलफल गरे। उनले भने, “गलत मनसाय, गलत नियत कसैले नराखौँ, नगरपालिकाको राम्रो कामलाई जनताको साथ चाहियो, हामी जनप्रतिनिधिको कुनै व्यक्तिगत स्वार्थ छैन, सबैको अपनत्व हुने गरी पारदर्शी ढंगले काम गर्छौं।”
अनुगमनमा उपमेयर बुढाथोकीले ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माण सम्पन्न नहुँदा त्यसको अपजस नगरपालिकाले खेप्नुपरेको बताए। उनले भने, “ठेक्का लिने कम्पनीले समयमै निर्माण नसक्दा जनताले हामीलाई गाली गरेका छन्, अपजस हामीले खेप्नुपरेको छ, सडक नबन्दा नगरपालिकाले दुई वर्षदेखि पर्यटन शुल्क उठाउन पाएको छैन, जनताको आक्रोश हामीमाथि छ, अब पनि सडक निर्माण ढिलाइ गरे नगरपालिका चुप बस्दैन।”
चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले माथिल्लोतर्फ नगरकोट बसपार्कबाट काम अगाडि बढाउन आग्रह गरे। सडक निर्माण सम्पन्न गर्न माग गर्दै गत असारमा पनि तीन दिन सडकमै वडा कार्यालयको काम सञ्चालन गरेर विरोध जनाएको भन्दै अब विरोध गर्नुपर्ने अवस्था सिर्जना नगर्न कम्पनीलाई आग्रह गरे।
शैलुङ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अधिकारीले सार्वजनिक खरिद नियमावली १२औँ संशोधनले एक वर्ष म्याद थपेकाले आगामी पुस मसान्तसम्म सडक हस्तान्तरण गर्ने म्याद रहे पनि मङ्सिरभित्रै हस्तान्तरण गर्ने गरी काम अगाडि बढाएको बताए। उनले भने, “कूल १५.६४ किलोमिटर लम्बाइ रहेको यो सडकको १३ किमिमा कालोपत्र गर्न बेस हालिसकेका छौँ, धेरै ठाउँमा फस्ट कोड पनि गरिसक्यौ, पाँच दशमलव पाँच किमिमा सेकेण्ड कोड हालिसक्यौँ, अब धेरै काम बाँकी छैन, बालाजुको काम रोकिएकाले त्यहाँको जनशक्ति र रोलर, ग्रेडरलगायत मेशिनहरु यहीँ ल्याएर तीव्र गतिमा काम गर्छौँ।”
एक्जिम बैंक इन्डियासँग ऋण लिएर भारतीय आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीले सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो। २०७३ असार ३ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता गरि २०७१ जेठ २२ बाट भक्तपुर–नगरकोट सडकको स्तरोन्नति सुरु गरे पनि अझै अलपत्र छ। अहिले आठौँ पटकसम्म म्याद थप गर्दासम्म ८३ प्रतिशत काम सम्पन्न भएको छ। स्थानीय ठेकेदार शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी हुन्।
अन्तिम पटक भन्दै २०७८ चैत १९ सम्म म्याद थप गर्दा त्यस अवधिमा पनि सम्पन्न नगरेपछि सरकारले फेरि आठौँ पटक म्याद थप गरेर २०७९ पुस मसान्तसम्म पु¥छयाएको छ। एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा कूल ३१ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि अहिले संशोधन गरेर ३६ करोड रुपैयाँ पु¥याइएको छ। सरकारले ठेकेदार कम्पनीलाई करिब ३० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
