यती विमान दुर्घटना : पोस्टमार्टम भइसकेका शव आफन्तलाई बुझाइँदै

नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमार्टमप्रश्चात् शव बुझाउन शुरू गरिएको जनाएको छ।

तस्वीर : रासस

काठमाडौँ– कास्कीको पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टमपछि शव आफन्तलाई बुझाउन शुरू गरिएको छ। पोखरास्थित गण्डकी अस्पतालमा विशेषज्ञहरूको टोलीबाट पोस्टमार्टमप्रश्चात शव आफन्तलाई बुझाउन थालिएको हो।

नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमार्टमप्रश्चात् शव बुझाउन शुरू गरिएको जनाएको छ। "पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमार्टमप्रश्चात् शव बुझाउन शुरू गरिएको छ। बाँकी मृतकहरूको शव पोखराबाट काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको एमआई१७ हेलिकोप्टर पोखरा पठाइएको छ", प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

थप सहजीकरणका लागि काठमाडौँबाट फरेन्सिक विज्ञ टोली पोखरा गएको छ। प्राधिकरणले विमानमा सवार ७२ मध्ये ६९ जनाको मृत्यु भइसकेको र ४१ शवको पहिचान खुलेको जनाएको छ।

पोस्टमार्टम भइसकेका शवहरूको पुनः पुष्टि गरी आफन्तलाई बुझाउन थालिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बताए। उनका अनुसार चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान नखुलेका शवहरू पहिचान परीक्षणका लागि काठमाडौँ पठाइने छ। अस्पतालमा सोमबार दिउँसो साढे ३ बजेसम्म ६८ वटा शव प्राप्त भएको उनको भनाइ छ।

माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान सेती नदीको खोँचमा दुर्घटना भएको थियो। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। विमानमा सवार ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्यको यात्रुको सुरक्षाकर्मीले उद्धार जारी राखेका छन्।