बेलायतकी प्रधानमन्त्री ट्रसले गरिन् राजीनामाको घोषणा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले पदभार ग्रहण गरेको ६ हप्तामै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको ६ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन्। डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न उत्तराधिकारी चयन नभएसम्म प्रधानमन्त्रीको रूपमा रहने बताइन्।

प्रभावशाली सांसद ग्राहम ब्राडीले खेल समाप्त भएको बताएपछि उनले भनिन्, “हामी सहमत भएका छौँ कि अर्को हप्ताभित्र नेतृत्वको चुनाव सम्पन्न हुनेछ। यसले हामी हाम्रो वित्तीय योजना पूरा गर्ने बाटोमा रहन र हाम्रो देशको आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षा कायम राख्न सुनिश्चित गर्दछ। उत्तराधिकारी नछानिएसम्म म प्रधानमन्त्रीकै रूपमा रहनेछु।”

लेबर पार्टीका नेता केइर स्टार्मरले विपक्षी दलले ट्रसको छोटो, संकटग्रस्त कार्यकालपछि ‘अब’ आम निर्वाचनको माग गरेका छन्। हाउस अफ कमन्समा बुधबार अबेर राति भएको एक महत्त्वपूर्ण मतदानमा एक प्रमुख मन्त्रीले राजीनामा दिएको र टोरीका धेरै सांसदले विद्रोह गरेपछि ट्रस प्रधानमन्त्रीका रूपमा राजीनामा घोषणा गर्न बाध्य भएकी हुन्। बिहीबार बिहानसम्म एक दर्जनभन्दा बढी कन्जरभेटिभ सांसदहरूले सार्वजनिक रूपमा ट्रसलाई राजीनामा दिन आग्रह गरेका थिए।

उनको कर कटौतीको योजनाले पहिले नै गम्भीर लागत र जीवनयापन संकटको समयमा बजारमा मन्दी निम्त्याएको छ। धेरैले ट्रसलाई हटाउनलाई माग गर्दै पत्रहरू बुझाएको रिपोर्ट गरिएको थियो। यद्यपि, पार्टी नियमहरूले १२ महिनाको लागि अर्को नेतृत्व अभियानलाई निषेध गरेको थियो।

“प्रधानमन्त्रीले हिजोको दिन निकै कठिन रहेको स्वीकार्नुभएको छ र उहाँले जनताले सरकारलाई राजनीतिमा कम र आफ्ना प्राथमिकता पूरा गर्न बढी ध्यान केन्द्रित गरेको हेर्न चाहेको महसुस गर्नुभएको छ,” उनका सरकारी प्रवक्ताले पत्रकारहरूसँग भने। प्रवक्ताको यो भनाइ आएको दुई घण्टा नबित्दै प्रधानमन्त्री ट्रसले राजीनामाको घोषणा गरिन्।