मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्तासाझेदार दलको बैठक

मन्त्रिपरिषद्मा भागबन्डाको विषय टुंगो लगाउन सत्तासाझेदार दलहरूको बैठक बालुवाटारमा बसेको छ।

काठमाडौं– मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तासाझेदार पाँच दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ।

सोमबारको बैठकले मन्त्रिपरिषद्मा भागबन्डाको विषय टुंगो लगाएर विस्तार गर्ने तयारी गरेको छ। बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ५ घण्टा लामो छलफल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताएका थिए।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एमालेका अध्यक्ष ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

मन्त्रालय भागबन्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सोमबारको बैठकमा सहमति जुटाएर पूर्णता दिने तयारी दलहरूले गरेका छन्।