स्ववियू चुनावमा नेविसंघ : सिपाहीबिनाको सेनापति

विद्यार्थी आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका अर्थ र मूल्य बुझ्न सक्ने तथा विद्यार्थीमाझ प्रिय विद्यार्थी नेतालाई स्ववियूको टिकट दिइनुपर्छ।

दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएका बेला नेपाली कांग्रेसले आफ्नो बहुदलीय अजेन्डालाई स्थापित गराउन पार्टीका विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक मुद्दामा टेकेर विद्रोह गर्न प्रेरित गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना गर्‍यो। पञ्चायतविरुद्ध संघर्षरत रहँदा जेल परेका तरुणहरूले जेलभित्रै नेविसंघ बनाउने संकल्प गरेर झण्डासमेत भित्रै तय गरी २०२७ साल वैशाख ६ गते काठमाडौँमा यो संगठनको स्थापना गरे। निरंकुसताविरुद्ध संघर्ष गरी मानवअधिकार, लोकतन्त्र, स्वतन्त्र न्याय, विधिको शासन, सुशासन, सामाजिक न्याय र मूल रूपमा शैक्षिक अधिकारका लागि जन्मिएको थियो नेविसंघ।

उतिखेर भर्खरै जेलबाट रिहा भएका नेता कृष्णप्रसाद भट्टराईले देशभरबाट आएका दुई सयभन्दा बढी प्रतिनिधिमाझ नेविसंघको प्रथम सम्मेलन उद्घाटन गरेका थिए। नेविसंघले त्यसयताका विभिन्न आन्दोलन, खासगरी २०४६ को जनआन्दोलन र ६२/६३ को दोस्रो जनआन्दोलनमा जुझारु भूमिका खेलेको थियो। पञ्चायतविरोधी विद्यार्थी मोर्चाका रूपमा जन्मेको यो संगठनले कुनै समय नेता जन्माउने नर्सरीका रूपमा काम गरेको थियो। 

पहिलो सम्मेलनमार्फत विपिन कोइरालाको नेतृत्व पाएको नेविसंघले आजका दिनसम्म शेरबहादुर देउवा, विमलेन्द्र निधि, गगन थापा, विश्वप्रकाश शर्मा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, एनपी साउद, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल र कल्याण गुरुङ र बद्री पाण्डेजस्ता प्रभावशाली नेतालगायत थुप्रै नेता जन्माएको छ। लोभलाग्दो इतिहास भएको त्यही नेविसंघ अहिले पूर्ण कार्यसमितिविहीन अवस्थामा छ। २०७३ सालमा पछिल्लोपटक नेविसंघको ११औँ महाधिवेशन सम्पन्न भएको थियो र त्यसैबाट नैनसिंह महर संघका अध्यक्षका रूपमा चुनिएका थिए। महरले अध्यक्ष पदबाट राजीनामा दिएयता नेविसंघको सम्मेलनमार्फत नेतृत्व चुनिएको छैन। 

२०७८ फागुन ३ गते मातृपार्टीले नेविसंघ केन्द्रीय तदर्थ समितिको सभापतिमा दुजाङ शेर्पालाई नियुक्त गर्‍यो। यसलाई नेविसंघ समर्थक नेता–कार्यकर्ताले सकारात्मक बुझे। यसका दुई कारण थिए। पहिलो, नेविसंघले धेरै समयपछि ३२ वर्षभन्दा कम उमेरका सभापति पाएको थियो। दोस्रो, शेर्पा राजनीतिमा मात्र नभई सामाजिक कार्यमा उत्तिकै सक्रिय थिए। कोरोना महामारीका बेला उनको भूमिका रचनात्मक थियो। दुजाङजस्ता जुझारु युवा अध्यक्षमा आएपछि पार्टी नेतृत्वसँग लडेर भए पनि संघको केन्द्रीय कार्यसमिति विस्तार गर्दै सबै तह र तप्काको निर्वाचन गराउन उनी सफल होलान् भन्ने धेरैको अपेक्षा थियो। तर, दुजाङले त्यसो गर्न सकेनन्। अन्ततः उनलाई बिनासेनाको सेनापति बनाइयो।

यसबीच, त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउँदो चैत्र ५ मा गराउने तयारी थालेको छ।  त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत्र ५ मा स्ववियू निर्वाचन गर्ने प्रस्ताव त्रिवि कार्यकारी परिषद्समक्ष पेस गरेको छ। यसको मतलब, सबै कुरा सामान्य रहँदा चुनाव आउन दुई महिना बाँकी छ। निर्देशनालयका निर्देशक पशुपति अधिकारीले ‘देशमा सम्पूर्ण निर्वाचनहरू सकिएकाले त्रिविको स्ववियू निर्वाचन गर्न तयार रहेको’ बताएका छन्।

तर यही हालतमा नेविसंघले स्ववियू निर्वाचनमा भाग लिँदा त्यसको परिणाम र परिणति के होला? मूल प्रश्न त्यही हो। एकल केन्द्रीय सभापति एक्लैको सहारामा स्ववियू निर्वाचन लड्ने हो भने त्यसले अपेक्षित नतिजा ल्याउन सक्ला? त्यसमाथि, स्ववियू कांग्रेसका लागि पनि रणनीतिक मोर्चा हो। त्यसमा जितहारको ठूलो अर्थ छ। त्यसो हुँदा यो चुनाव लड्न महिनौँअघिदेखि संगठन र त्यसका सहायक अंगहरूलाई चुस्त र दुरुस्त राखिनुपर्थेन? कमसेकम सक्रिय र तन्दुरूस्त केन्द्रीय कार्यसमिति चाहिँन्थेन? स्थानीयदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रीय कार्यसमिति नभएको बेला नेविसंघ कसरी पुनः देशकै ठूलो विद्यार्थी संगठनका रूपमा उदाउला? 

गत चुनावमा देशकै ठूलो पार्टीका रूपमा नेविसंघको मातृपार्टी नेपाली कांग्रेस उदायो। कमसेकम, क्याम्पसहरूमा मातृपार्टीकै हैसियत कायम राख्न पनि नेविसंघले केही कदमहरू तत्कालै चालिहाल्नुपर्छ। पहिलो,  चाँडोभन्दा चाँडो सम्पूर्ण त्रिवि मातहतका क्याम्पसका कार्यसमितिलाई सक्रिय बनाउनुपर्छ। त्यसका लागि निवर्तमान पदाधिकारीलगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको एक 'रणनीतिक मार्गदर्शक टिम' बनाउनु उचित हुन्छ। त्यसका लागि पार्टीले नै पहल लिनुपर्छ। दोस्रो, नेविसंघका पूर्व पदाधिकारीहरूसँग परामर्श गर्दै चुनावी रणनीति तयार गर्नुपर्छ। 

तेस्रो, सम्पूर्ण त्रिविका स्ववियू निर्वाचन हुन बाँकी क्याम्पसको सांगठनिक अवस्था कस्तो छ र कस्तो रणनीतिक योजना बनाउँदा निर्वाचन जितिइन्छ भन्ने जानकारी विभिन्न अनलाइन फारममार्फत माग गरिनुपर्छ। क्याम्पसको कार्यसमिति बाहेकका अन्य समर्थक र शुभेच्छुक विधार्थी तथा गैरविद्यार्थीहरूलाई पनि एउटा समयसीमा दिएर आफ्नो विचार बुझाउन आह्वान गर्नुपर्छ। नेविसंघमै संगठित भएका हकमा विचार, योजना र रणनीति पठाउन अनिवार्य गराउनु उचित हुन्छ। 

चौथो,  यसरी प्राप्त सुझावहरू केन्द्रीय कार्यालयले पाउनेबित्तिकै त्यसको अध्ययन एवं विश्लेषण गर्न एक टोली खटाउनु उचित हुन्छ। प्राप्त सुझावहरूलाई विश्लेषण गरेर क्याम्पसअनुसार रणनीति बनाउनुपर्छ। पहिले क्याम्पसको स्ववियूनिकट भएर काम गरेका, स्ववियूमा जितेका तथा विद्यार्थीमाझ चिनिएका विद्यार्थी नेतासँग मिलेर रणनीति तय गर्नुपर्छ। पाँचौँ, निर्वाचनको तयारीमा जुट्नुपर्ने क्याम्पसहरूका हकमा, अन्य विश्वविद्यालयका नेविसंघका इकाईमा सक्रिय पदाधिकारीहरूलाई पनि सहयोगीका रूपमा खटाउनुपर्छ। 

छैटौँ, क्याम्पस प्राज्ञिक थलो भएकाले त्यहाँ तडकभडकपूर्ण प्रचारप्रसार हुनुहुन्न। सकेसम्म खर्च नै नगरी समर्पित विद्यार्थी नेता कार्यकर्ताले नै सामाजिक सञ्जालमार्फत प्रचार गरिनु उचित हुन्छ। सातौँ, पार्टीभित्रका गुटगत विषयलाई पूर्ण रूपमा बिर्सिएर सबै पक्षसँग कुरा गरिनुपर्छ। कमसेकम विद्यार्थी संगठनलाई विद्यार्थी संगठनकै रूपमा परिचय दिलाउने कोसिस हुनुपर्छ। 

आठौँ,  स्ववियू चुनावमार्फत नेविसंघमा नेतृत्वका रूपमा उदाउने डरले स्वविय चुनावमा टिकट दिने सम्बन्धमा पनि 'आफ्ना गुट' खाेजिने सम्भावना छ। त्यसो हुनुहुन्न। विद्यार्थी आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका अर्थ र मूल्य बुझ्न सक्ने तथा विद्यार्थीमाझ प्रिय विद्यार्थी नेतालाई स्ववियूको टिकट दिइनुपर्छ। नवौँ, 'रणनीतिक मार्गदर्शक टिम'ले स्ववियू निर्वाचन सकिएपछि नेविसंघ नेतृत्वलाई  प्रतिवेदन पेस गर्न निर्देशन दिनुपर्छ। तर यी सारा रणनीति कार्यान्वयन हुन त्यतिखेर सम्भव छ, जतिखेर नेविसंघको सभापति मात्रै नभएर केन्द्रीय कार्यसमिति पनि पूर्ण रूपमा विस्तार हुनेछ। 

संविधान कार्यान्वयन गर्ने सवालमा कांग्रेस अझै पनि संविधान पक्षधर वाम शक्तिसँग समेत हातेमालो गरेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि राष्ट्रिय राजनीतिमा कांग्रेस-वाम गठबन्धनमा दरार उत्पन्न भई हाल 'वाम एक ठाम' गठबन्धन शुरू भएको छ। बालुवाटार र सिंहदरबारको राजनीतिले 'क्याम्पसे राजनीति'मा पनि प्रभाव पार्ने निश्चित छ। त्यसका कारण स्ववियू चुनावमा नेविसंघ एक्लै र वाम विद्यार्थी एक ठाउँ हुने अवस्था पनि आउन सक्छ। तसर्थ, सुझबुझपूर्ण रणनीति र मिहिनेतबिना अघि नबढे स्ववियू निर्वाचनको गणितमा नेविसंघलाई घाटा पर्ने देखिन्छ। अध्यक्ष डुजाङका लागि केन्द्रीय सभापतिका रूपमा स्ववियू निर्वाचनको नेतृत्व पाउनु आफैँमा अवसर हो। आफ्नो सक्रिय छवि र ऐतिहासिक संस्थाको नेतृत्वको भूमिकामा खरो उत्रिएर उनले आफूलाई प्रमाणित गरुन्। ऐतिहासिक विरासत जोगाउन लागुन्। मूल रूपमा कांग्रेसले नेविसंघलाई तदर्थ अवस्थामा नछाडोस्। स्ववियू निर्वाचनमा सर्मनाक हार हुनबाट जोगाओस्।   


राजधोव नेपाल विद्यार्थी संघमा सक्रिय छन्।