नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमान दुर्घटनाका विषयमा अड्कल, अनुमान गर्नु वाञ्छनीय नहुने बताएका छन्।
काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ।
प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको अवस्था विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीलाई नबोल्न निर्देशन दिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भएकाले घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताएका हुन्।
"नेपाल नागरिक उड्डयन प्राधिकरणले घटना भइसकेपछि छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउँछ। यसमा अरू कसैले पनि घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय हुँदैन", उनले भने। कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको उनले बताए।
प्रवक्ता निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिको भनाइ उद्धृत गरी प्रसारित समाचारबाहेक अरूलाई विश्वास नगर्न पनि आग्रह गरे। उनले सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो आइतबार काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको नभएको दाबी गरे।
आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमानमा अहिलेसम्म ६९ शव भेटिएको छ भने बाँकी ३ जनाको खोजी कार्य जारी रहेको छ।
मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ। जहाजको ब्ल्याक बक्स फेला परिसकेको र काठमाडौँ ल्याइ जाँचबुझ समितिलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ।
सरकारले आइतबार विमान दुर्घटनापछि त्यसको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो। पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहनुभएको जाँच आयोगमा सदस्यमा हवाई विज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।
आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
