मन्त्रिपरिषद् विस्तार र शपथको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। मंगलबार नै नयाँ नियुक्त भएका मन्त्रीहरूलाई शपथ गराइने तयारी छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। सोमबार बसेको सत्तासाझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको संयन्त्रको बैठकपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगो लगाइसकेको र मंगलबार शपथ ग्रहण हुने बताएका थिए।

सत्ता गठबन्धनको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो छलफल भएको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार एमालेले आठ, माओवादीले चार मन्त्रालय पाउने भएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन-तीन मन्त्री र एक-एक राज्यमन्त्री पाउनेछन्। सीके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको छ।

यद्यपि, भागबन्डाबारे औपचारिक घोषणा गरिएको छैन। सरकारलाई विश्वासको मत दिने अन्य दलहरूलाई पनि समेट्ने प्रयास गर्न उनीहरूले भागबन्डाबारे औपचारिक जानकारी नगराइएका हुन्। प्रधानमन्त्री दाहालले बालकोटमा एमाले अध्यक्ष ओलीसँगको भेटवार्तापछि विश्वासको मत दिने अन्य दलहरूसँग पनि छलफल गर्ने बताए थिए।

जनता समाजवादी पार्टी (जसपा)ले भने मन्त्रालय बाँडफाँटमा असहमति जनाएको छ। जसपा नेताहरूले मन्त्रालय बाँडफाँट सम्मानजनक नभएकोले पार्टी मन्त्रिपरिषद् विस्तारमा सहभागी नहने बताएका छन्।

एमालेबाट यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्रीका रूपमा विष्णु पौडेल सरकारमा छन्। एमालेका थप तीन मन्त्री नियुक्त भए पनि उनीहरूको मन्त्रालय टुंगिएको छैन।

माओवादीबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीका रूपमा नारायणकाजी श्रेष्ठ सरकारमा छन्। त्यस्तै, रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रूपमा पार्टी अध्यक्ष लामिछाने सरकारमा सहभागी छन्।

राप्रपा यसअघि सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी भएको थिएन। जनमत पार्टीबाट एक जना मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय टुंगो लागिसकेको छैन। सोमबार साँझ टुंगिएको भागबन्डाअनुसार रास्वपाले अब शिक्षा र श्रम मन्त्रालय पाउने गृहमन्त्री लामिछानेका सचिवालय संयोजक दीपक बोहोराले बताए।

राप्रपाले ऊर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने छ। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्री बन्ने एक नेताले बताए।

प्रधानमन्त्री दाहालले मंगलबार नै मन्त्रिपरिषद् बिस्तार गरिने जानकारी बैठकमा गराएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनले  पुस २६ गते विश्वासको मत लिएका थिए।