मन्त्रिपरिषद् विस्तार, दाहाल सरकारमा चार उपप्रधानमन्त्री

सोमबार साँझ सत्तागठबन्धनले गरेको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले १ उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

सत्तागठबन्धनमा सोमबार साँझ भएको सहमतिअनुसार दाहालले गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीबाहेक अरू सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। 

मंगलबार शपथ लिएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनेका छन्। लिङ्देनले शपथ लिएपछि दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।

यसअघि नेकपा एमालेबाट विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएका थिए।

नवनियुक्त मन्त्रीमा एमालेबाट डा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती छन्। पौडेलले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएकी छन्। गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। चौधरीले महिला तथा बालबालिका मन्त्रालय र उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी छन्। शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, किराँती पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।

माओवादीबाट सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएकी छन्। 

राप्रपाबाट विक्रम पाण्डे शहरी विकास मन्त्री ध्रुवबहादुर प्रधान कानूनमन्त्री बनेका छन्। दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र डोलप्रसाद अर्याल मन्त्री बनेका छन्। खनाललाई शिक्षा र अर्याललाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ। रास्वपाकै डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएकी छन्।

पुस ११ गते नै विना विभागीय मन्त्रीको शपथ लिएका एमालेका दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राईले पनि जिम्मेवारी पाएका छन्।

भण्डारी उद्योग मन्त्री बनेका छन् भने साहलाई कृषि मन्त्रालय र राईलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जनमत पार्टीबाट मन्त्री नियुक्त भएका अब्दुल खानको भने जिम्मेवारी तोकिएको छैन।