यस्तो छ २३ सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन (सूचीसहित)

नवनियुक्त मन्त्रीहरूलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउनुका साथै कार्यविभाजन समेत गरेकी छन्।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

मंगलबार प्रधानमन्त्री ‘प्रचण्ड’ले गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीबाहेक अरू सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी छन्। उनले प्रधानमन्त्री दाहालको सिफारिसमा नवनियुक्त तथा मौजुदा मन्त्रीहरूको कार्यविभाजन समेत गरेकी छन्। 

जसअनुसार अब प्रधामन्त्री दाहालको मन्त्रिमण्डमा चारजना उपप्रधानमन्त्री हुनेछन्। 

मंगलबार शपथ लिएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनेपछि दाहाल नेतृत्वको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको हो। 

यसअघि नेकपा एमालेबाट विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएका थिए।

नवनियुक्त मन्त्रीमा डा. विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएकी छन् भने पदम गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। भगवती चौधरीले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै,  हरि उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीहरू एमालेका तर्फबाट मन्त्री बनेका हुन्। 

माओवादीबाट नवनियुक्त मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी छन्। शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाउँदा किराँतीले पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका छन्।

त्यस्तै, माओवादीबाट सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएकी छन्। 

राप्रपाबाट विक्रम पाण्डे शहरी विकास मन्त्री ध्रुवबहादुर प्रधान कानूनमन्त्री बनेका छन्। दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई शिक्षा मन्त्रालय तथा डोलप्रसाद अर्याललाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ। रास्वपाकै डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएकी छन्।

पुस ११ गते नै शपथ लिएका एमालेका दामोदर भण्डारीले उद्योगमन्त्रीको जिम्मेवारी पाएका छन् भने, ज्वालाकुमारी साहलाई कृषि मन्त्रालय र राजेन्द्र राईलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जनमत पार्टीबाट मन्त्री नियुक्त भएका अब्दुल खानले भने खानेपानी मन्त्रालयको पाएका छन्।
सूचीः