नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहाली गर्दै निजगढ विमास्थल अघि बढाउने बताएका छन्।
काठमाडौँ- सरकारले बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज मन्त्रालयमा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर’ परियोजना भएकाले निगगढमा विमानस्थल बन्ने विश्वास व्यक्त गरे।
उनले भने, “निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जरुरी छ, त्यसलाई कसरी तीव्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भनेर हाम्रो तर्फबाट सम्पूर्ण बल लगाइन्छ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाइने बताएका थिए।
सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ। वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनः चर्चाको विषय बनेको छ।
मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (गत जेठ २ गतेदेखि) सञ्चालनमा आएको छ। तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यावसायिक उडान सुरु भइसकेको छ।
‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै’
पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सुधार गरी सेवालाई प्रभावकारी बनाइने बताए। उनले नेपालको ध्वजाबाहक जहाज आकाशमा उडाएर गौरवमय बनाउनका लागि पहल गर्ने विश्वास व्यक्त गरे।
मन्त्री किराती निगमको सुधार गर्नु बाघको घोडा जड्नु जस्तै भएको व्यङ्ग्य गरे। उनले भने, “निगमको सुधार गर्नु भनेको बाघको घोडा चढ्नु जस्तै हो। हात्तीको घोडा त धेरै चढेँ तर यसलाई सुधार्नु भनेको बाघको घोडा चड्नु हो।” निगमको संरचनागत सुधारका लागि नेपालको सन्दर्भमा कसरी नयाँ ढङ्गले पुनःसंरचना गर्न सकिन्छ, विज्ञ सरोकारवालासँग छलफल गरेर निर्णय लिने उनले उल्लेख गरे।
उनले मन्त्रालयको कामलाई चुस्त र प्रभावकारी बनाउन लागि पर्ने बताए। मुलुकको हवाई सेवालाई सुदृढ बनाएर यसलाई जोखिममुक्त बनाउन पहल गर्ने उनको भनाइ थियो।
‘सहयोग पेटिका’ का लागि मन्त्रीको एक महिनाको तलब
पर्यटनमन्त्री किरातीले माला र खादा लिएर नआउन आफन्त र शुभेच्छुकलाई आग्रह गरे। देश अहिले जहाज दुर्घटनाको शोकमा रहेको भन्दै उनले आफू मन्त्री भएर माला र खादा लगाउन अस्वाभाविक भएको उल्लेख गरे। “सबै शुभेच्छुकलाई मन्त्रालयमा स्वागत छ तर देश यत्रो शोकमा छ, खादा र माला नलगाऔँ, त्यो खादा र माला किन्ने पैसा बचत गरौँ, सहयोग पेटिका बनाएर त्यहाँ जम्मा गरौँ। सङ्कलित पैसा दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछौँ”, उनले भने
पर्यटनमन्त्री किरातीले सहयोग पेटिका बनाएर आफूले एक महिनाको पारिश्रमिक र सचिवालयका कर्मचारीको १५ दिनको पारिश्रमिक कोषमा जम्मा गरिने घोषणा गरे।
‘फोटोकपी नहुने तीन सम्पदाको सम्वर्द्धन’
पर्यटनमन्त्री किरातीले विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा, पशुपतिनाथ र लुम्बिनीको सम्वर्द्धन र विकास गरी पर्यटक आकर्षण गर्न काम गर्ने बताए। “हामी यस्तो देशमा छौँ, जहाँ प्रकृति, सम्पदा र सांस्कृतिक विविधतामा धेरै धनी छौँ, ‘कसैले फोटोकपी गर्न नसक्ने’ देशका शान सगरमाथा, पशुपतिनाथ र लुम्बिनीको सम्वर्द्धन र विकासमा हाम्रो विशेष ध्यान जानेछ”, उनले भने।
पर्यटनमन्त्री किरातीले ‘परिवार, नातागोत र आफन्तबाट भनसुन गरेर काम नहुने र जात, क्षेत्र, लिङ्ग तथा विचार र आस्था’ को आधारमा कसैलाई भेदभाव नगर्ने तर, कामको परिणाम चाहिने उल्लेख गरे।
मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित र भरपर्दो बनाउन नागरिक उड्डयन प्राधिकरणसँग आजै छलफल गर्ने बताए। उनले न्यूनतम स्रोत साधनको उच्चतम प्रयोगको सिद्धान्तबाट मन्त्रालयको काम कारबाही अघि बढाइने विश्वास व्यक्त गरे।
संघीय निकायको पुनःसंरचनाबारे पहिलो निर्णयमा हस्ताक्षर
पदबहाली गर्दै मन्त्री किरातीले मन्त्रालयको संघीय निकायको पुनःसंरचनासम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए।
सरकारको चालु आवको बजेट वक्तव्यमा संघीय निकायको पुनःसंरचना गर्ने र दरबन्दी १० प्रतिशत कटाउने उल्लेख गरिएको थियो। सोही विषयको कार्यान्वयनका लागि पर्यटन मन्त्रालयअन्तर्गत संघीय निकायको दरबन्दी कटौती र समीक्षा गर्नेसम्बन्धी मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय गरिएको सचिव अधिकारीले बताए।
पदबहालीपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव अधिकारीले मन्त्रालयको गतिविधिबारे जानकारी गराएका थिए। मन्त्रालय मातहत निकायका प्रमुखको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
