खासमा एकै समयका मानिस पनि तीन खालका संस्कृतिमा बाँचिरहेका हुन्छन्। ‘सत्यम्’का पात्रमा विद्यमान तीन प्रकारका संस्कृतिको परिचर्चा यत्रतत्र पाइन्छ।
कथा भन्नु स्मृति र अनुभूतिमा कलाको कोलाज भरेर उज्यालिएको दर्पण हो। त्यसमा इतिहासका तात्कालिक घटनाका अंशसमेत जोडिएर आउँछन्। समाज–अध्ययन र अनुसन्धानका निष्कर्ष पनि कथाका मालामा मज्जाले जोडिन सक्छन्। इतिहास, अनुभव र अनुसन्धानबाट निःसृत तथ्य आख्यानको यसै धारभित्र पर्छन्। यिनै केही विषयमा टेकेर सिर्जित कथाकृति हो— सत्यम्। कथाकार हुन्, लक्ष्मण वियोगी।
‘सत्यम्’ शीर्षक देख्नेबित्तिकै आकलन गर्न सकिन्छ— यसले समय, समाज वा व्यक्तिको यथार्थ बोलेको होला। सत्य भनेको यथार्थ नै हो तर यथार्थ अनेकथरि हुन्छन्। आफूले भनेको वा अरूले बोलेको यथार्थ पृथक् भइहाल्छन्। त्यसैले यथार्थका अनेक आयाम छन्। ‘सत्यम्’भित्र कृतिकारले निश्चित समयमा अनुभूत गरेको यथार्थ छ। यसमा उनको विचारअनुसारका कथा प्रबल छन्। विशेषतः २०४० देखि २०८० को दशकसम्मको नेपाली समाजले भोगेको सङ्क्रमणकालीन पीडा यसको अन्तर्वस्तुको मेरुदण्ड बनेको छ। द्वन्द्वप्रधान कथामा तात्कालिक परिवेशको जटिलता प्रस्ट देखाइएको छ।
म द्वन्द्वको त्यही परिवेशबाट कृति र कृतिकारलाई जोडेर हेर्दै छु। समाज, कृतिकारको अभिव्यक्ति र उसले प्रयोग गरेको भाषा विश्लेषण गर्दै छु। ऊ कुन सांस्कृतिक परिवेशमा बाँचेर कस्तो विचार दिएको छ भन्ने जोडेर नियाल्दै छु। जुन कृतिप्रति आलोचनात्मक दृष्टि राखिन्छ, त्यति नै त्यो सफल मानिन्छ। आलोचनात्मक हुनुको अर्थ पृथक् र वैकल्पिक दृष्टिकोणसहित कृतिलाई हेर्नु हो।
यथार्थ र सम्भावनाको द्वन्द्व
कथा बनाइएको वस्तु हो, तर यसको जग भने यथार्थ र सम्भावनामै अडिएको हुन्छ। ‘सत्यम्’का कथाहरू समाज र राजनीतिको ‘वस्तुगत यथार्थ’को धरातलमा उभिएका छन्। लेखकले जे देखे र जे भोगे त्यसैलाई कथाको स्वरूपमा ढालेका छन्। यी कथामा लेखकको आफ्नै विश्वास, विचार र पूर्वाग्रहहरू सत्यका रूपमा प्रस्तुत भएका छन्। त्यसैले यो उनको दृष्टिमा देखिएको वा त्यस क्षणमा ‘ठानिएको’ सत्य हो।
कथामा यथार्थ हुन्छ कि सम्भावना? यो सार्वभौम विमर्शको विषय हो। ‘सत्यम्’ पढ्दा मैले त्यसरी नै हेरेको छु। हराएको होमोसेपियन्स सम्झिँदा मेरो दिमागमा एउटा सन्दर्भ आउँछ। नियन्डरथल र होमोसेपियन्समा के फरक छ? नियन्डरथलले उसको इन्द्रियले जे अनुभूत गर्थ्यो, त्यसलाई मात्रै महत्त्व दिन्थ्यो। उसको दिमागले तात्क्षणिक कुरा मात्रै लिन सक्थ्यो। त्यससम्बन्धी प्रतिक्रिया दिन सक्थ्यो, तर होमोसेपियन्सको मस्तिष्क फरक तरिकाले बनेको थियो। उसले कुनै कुराको सम्भावना पनि आकलन गर्न सक्थ्यो। भविष्यको योजना बनाउन सक्थ्यो। त्यसै ठाउँबाट कथा भन्नेसुन्ने समयको शुरूआत भएको हो। हाम्रो दिमागमा कथा बन्ने चिज त्यही बेलादेखि शुरू भयो। होमोसेपियन्सको त्यही विशेषताको सिलसिला अहिले आएर गज्जपले विकसित भएको हो।
हामी घटित नभएका घटना पनि बढाइचढाइ गरेर कथ्न सक्छौँ, त्यसैले त्यो यथार्थ नभएर कथा हुन्छ। हुन पनि साहित्यिक कृतिहरू सम्पूर्णतः वास्तविक हुँदैनन्। भइहाले पनि हाम्रो रचनामा आउँदा ती कलात्मक रूपले बनाइएका हुन्छन्। त्यसैले ‘अ फिक्सन इज अ मेड–अप स्टोरी’ भनिन्छ। अतः बनाइएको रचना हो। बनाउने वित्तिकै कला चाहिन्छ। समाजको यथार्थ अङ्कन गरेर लेखिए पनि त्यो नयाँ ढङ्गले कुँदिएको हुन्छ। यसो गर्दा एक पृथक् प्रकारको सम्भावना समेत प्रकट हुन्छ। त्यसो हुनुमा लेखकको दृष्टिकोण, विचारधारा, उसले बाँचेको जिन्दगी र परिवेश महत्त्वपूर्ण हुन्छन्। कथामा लेखकले कुनै परिघटनाप्रति हेर्ने दृष्टिकोण प्रबल हुन्छ। ‘सत्यम्’मा तिनै कुरा देखाइएको छ।
कृतिकारमा सम्भावना भन्दा बढी अनुभूतिको छाप परेको छ। हरेक कृतिकारको मौलिक छाप कृतिमा हुनैपर्छ। वियोगीको कृतिमा पनि उनको स्मृतिको यात्रा अर्थात् अनुभूतिजन्य मौलिकता पाइन्छ। अनुभूति व्यक्तिगत मात्र हुन्छ भन्ने पनि छैन। समूह वा एउटै परिवारका व्यक्तिबीचको दृष्टिकोण फरक–फरक हुन सक्छ। ‘सत्यम्’मा व्यक्ति लेखकको मौलिक अनुभव प्रबल भएर आएको छ। यसमा उनका युवाकालीन स्मृतिले महत्त्व पाएका छन्। नेपालमा २०५० को दशकबाट शुरू माओवादी द्वन्द्वलाई उनले आफ्नै मौलिकतामा केन्द्रित रहेर हेरेका छन्। कथामा तिनै दृष्टिकोण घनीभूत छन्। कतै फरक वा वैकल्पिक दृष्टिकोण पनि पाइन्छ। त्यसको बलियो उदाहरण हो, ‘बागियान’।
सांस्कृतिक सम्मिलन
खासमा एकै समयका मानिस पनि तीन खालका संस्कृतिमा बाँचिरहेका हुन्छन्। ‘सत्यम्’का पात्रमा विद्यमान तीन प्रकारका संस्कृतिको परिचर्चा यत्रतत्र पाइन्छ।
पहिलो हो— प्रभुत्वशाली अर्थात् शासनसत्ता र शक्तिमा रहेकाहरूको संस्कृति। त्यहाँ हैकमको बोलबाला देखिन्छ। लोकप्रियता भनेको त्यही हो। समाजमा चलेको भन्दा ‘एन्टी करेन्ट’मा हिँड्यो भने आफ्नो अस्तित्व रहँदैन वा अरूबाट आक्रमण हुन्छ भन्ने डरले एउटै बानीमा परेर समूह नै उही बाटो हिँड्न थाल्छ। त्यसरी हिँडिरहँदा ऊ प्रभुत्वशाली संस्कृतिको अङ्ग बन्छ। समाजमा जुन खालको सत्ता वा भाष्य चलेको छ, त्यसैलाई निर्विवाद स्वीकारेर अधिकांश मान्छे अगाडि जान्छन्। ‘सत्यम्’का कथामा त्यही भाष्य अलि बढी प्रकट भएको पाइन्छ।
‘चुन्कीको रहस्य’मा सामाजिक यथार्थको निर्मम तस्बिर छ; जसलाई ‘सामाजिक यथार्थ’को एउटा कठोर दृष्टान्त मान्न सकिन्छ। चुन्की र विनयको प्रेमसम्बन्ध र त्यसको असफलतामार्फत सर्जकले के देखाउन खोजेका छन् भने राजनीतिक रूपमा हामीले जतिसुकै ‘समावेशी’ कुरा गरे पनि सामाजिक संरचना अझै सङ्कुचित छ। यस कथामा पाठकलाई सान्त्वना दिनका लागि मात्र जबर्जस्ती सुखद अन्त्य गराइएको छैन। बरु, विभेदयुक्त समाजको विरूप चित्र उतारिएको छ।
‘चुन्की’ र ‘विनय’को विवाह हुन नसक्नु वा ‘क्रमु’ कथामा रेस्मा गुरुङ र बाहुन ‘म’ पात्रबिचको प्रेम सफल नहुनुले नेपाली समाज अझै जातीय र वर्गीय पर्खालले घेरिएको यथार्थ देखाउँछ। यो पुस्तौँदेखिको विभेदको निरन्तरता पनि हो।
दोस्रो हो— पश्चगामी संस्कृति वा पुराना र रूढिवादी अवशेषहरू। मुलुकले विभिन्न कालखण्डमा अनेक उतारचढाव बेहोर्दै आयो। समाज रूपान्तरणका आवाज पनि बुलन्द पारियो। तथापि, रूढिवादको जरो उखेलिन सकेकै छैन। वर्तमानभन्दा अगाडिको वा भविष्यको अवस्था राम्रो हुन्छ भन्ने संस्कृति छ तर नयाँ पुस्ता विगतका बानीमा भिज्न गाह्रो मानेको पाइन्छ। यसै पनि बानीमा कुनै सौन्दर्य हुँदैन। कृतिकारले त्यो रूढिवादी पाटो घटाउँदै जोखिमयुक्त यात्रा गर्ने आँट गर्नुपर्छ। ‘सत्यम्’ले यस्ता जोखिम केही कम लिएको देखिन्छ। कथाकार वियोगीको वैचारिकता, अनुभूति, दृष्टिकोण, उनको समूहले सोच्ने तरिका स्पष्ट भएको छ।
‘मनफूल झरेपछि’, ‘बागियान’ र ‘क्रमु’ कथामा तिनै विषय अभिलेखन गरिएको छ। यिनमा पहिचानका मुद्दा जोडिएर आएका छन्। ‘मनफूल झरेपछि’मा समाजको सपाट चित्र छ तर अन्त्य अत्यन्त निराशापूर्ण। ‘क्रमु’मा वर्गीय विभेदका पाइला विपरीततिर फर्किएर हिँडेका छन्।
‘बागियान’ कथाले तिलक नेपाली ‘जंगम’का माध्यमबाट जातीय र सांस्कृतिक पहिचानको खोजी गरेको छ। समाजको पिँधमा पारिएका पात्रहरू जब आफ्नो अस्तित्व र स्वाभिमानका लागि बोल्छन्, त्यसले प्रभुत्वशाली संस्कृतिलाई चुनौती दिन्छ। यसमा प्रयोग गरिएको ‘बागियान’ (विद्रोही) भावले समाजको परिवर्तनकारी चाहनाको प्रतिनिधित्व गरेको छ। पात्र आफ्ना मुद्दा र परिवर्तित विचारको बिगुल फुक्न सफल देखिन्छ।
तेस्रो हो— उदीयमान संस्कृति, परिवर्तित नवीन चेतना। युवाले जोखिम लिन्छ र लिने हिम्मत गर्नुपर्छ। उसले नयाँ खालको प्रयोग गर्नुपर्छ। नयाँतिर जान खोज्नुपर्छ। ‘प्रेतयान’ कथामा वियोगीले ‘ट्र्याक चेन्ज’ गर्न खोजेको देखिन्छ। ‘हिउँखोलाको आलाप’मा पनि रूपान्तरित हुँदै जीवनचिन्तन सामूहिकतातिर मोडिएको पाइन्छ। यसो हुनुको पछाडि कृतिकारले समयको लय समात्न खोजेको देखाउँछ।
‘हिउँखोलाको आलाप’मा उठाइएको पर्यावरणीय चिन्ताले उदीयमान संस्कृतिको प्रतिनिधित्व गर्छ। तथापि, ‘सत्यम्’का कथामा अक्सर प्रभुत्वशाली शक्तिसँगको जुधाइमा उदीयमान वा परिवर्तनकारी पक्षकै हार भएको देखाइएको छ।
सामाजिक राजनीति
एउटा विषय प्रकट गर्न लेखक कतिसम्म स्वतन्त्र हुन्छ होला? हामी गणतन्त्र, स्वतन्त्र र सांस्कृतिक बहुल पृष्ठभूमिमा छौँ। बहुभाषिक छौँ। यसरी जाँदा कतिपय स्थानमा वास्तविकता प्रकट गर्दा समस्या देखिन्छ। लेखकलाई द्विविधा हुन्छ। समाजको वास्तविकता प्रतिबिम्बन गरूँ कि राजनतिक रूपले सही ठाउँमा उभिऊँ भन्ने दोधार हुन्छ। कथामा लैङ्गिक, जातीय र क्षेत्रीय रूपले विभेदका कुरा आउन सक्छन्। कुन पक्ष महत्त्वमा राखौँ ? कथामा कुन खालको पात्रलाई कसरी सम्बोधन गर्ने वा आदर गर्ने ? यी विषय पनि सम्बन्धित भएर आउँछन्।
गुरुप्रसाद मैनालीको ‘छिमेकी’ कथा हेर्दा बाहुन पात्रलाई ‘उनी’ र गरिब पात्रहरूलाई ‘ऊ’ सम्बोधन गरिएको छ। विचार गरौँ त, आदरमा कत्रो राजनीति ! ‘सत्यम्’का कथामा पनि कृतिकार राजनीतिक सुधारभन्दा बढी सामाजिक यथार्थकै चित्रणमा केन्द्रित छन्। यसो गर्दा कति ठाउँमा दलित र महिलाप्रति उपेक्षा भएको देखिन सक्छ। पाठकमा त्यो अनुभूति आउन सक्छ। लेखनमा कतिसम्म जोखिम लिने ? यो लेखकमै भर पर्छ। एकातिर, सामाजिक यथार्थमा टेकेर हिँड्दा परम्परावादी हुने जोखिम रहन्छ। अर्कातिर, राजनीतिक सुधारतिर जाँदा लेखन विद्रूप हुन सक्छ। यहाँनिर, पाठकले कथाको बढी आलोचना गर्ने सम्भावना रहन्छ।
त्यसैले, लेखकले बीचको बाटो समात्नु नै उसको बृद्धिमानी हुन्छ। ‘सत्यम्’का अधिकांश कथाहरू बीचको बाटो अर्थात् मध्यमार्गमै छन्। केही कथामा महिलाको चित्रण वा उसको चाहनाको विन्यास गर्दा बढी पुरुषत्व हाबी भएको देखिन्छ। यो ‘सत्यम्’भित्र मात्रै होइन, वर्तमान समयको समग्र लेखनको विशेषता हो। यसका कथाहरूले बढी बर्चस्वशाली संस्कृति र त्यही खालको भाष्य प्रकट गरेका छन्। ‘मनफूल झरेपछि’मा त्यो भाव पाइन्छ। यो धेरै पाठकले सहर्ष स्विकार्छन् पनि किनभने त्यो ‘हेजेमोनिक’ विचार हो।
त्यस आधारमा हेर्दा ‘सत्यम्’ले पश्चगामी संस्कृतिलाई प्रतिनिधित्व गर्दैन। वर्तमान समयकै संस्कृति र भाष्यमा यो हिँडेको छ। ‘टाउको’ त्यसको नमुना हो। यसमा माओवादी द्वन्द्वको अलि बढी विद्रूपीकरण गरेको हो कि भन्ने लाग्छ तर त्यस्ता समाचारहरू आएकै हुन्। एउटा सौम्य लेखकले यथार्थलाई त्यतिसम्म विरूप नपारेको भए हुन्थ्यो भन्ने मलाई लाग्छ।
सामग्री सङ्कलन
लेखकले कथा बुन्ने क्रममा सामग्री सङ्कलन गर्ने पद्धति पत्रकारिताको जस्तै हो। मुख्यतः ऊ आफैँले समाजको अवलोकन गर्छ। इन्द्रियले महसुस गर्छ। आँखाले देखेर, कानले सुनेर जे ग्रहण गर्छ, त्यो नै उसको पहिलो सामग्री हुन्छ। उसको अनुभव तथ्यमा आधारित हुन्छ तर अनुभूति भने अधिक काल्पनिक हुन सक्छ। फेरि, अनुभूति हरेक क्षण फरक–फरक हुन सक्छ। सामग्री सङ्कलनको दोस्रो आधार, कथाकार पात्रहरूसँग अन्तरक्रिया वा समाजमा घुलमिल गर्छ। कुराकानी गर्दा पात्रका दृष्टिकोण थाहा पाउँछ। सोही अनुसार आफूलाई चाहिने पात्रहरू निर्माण गर्छ। तेस्रो हो, अभिलेख वा इतिहास। यो कथाकारको टिपोट वा अध्ययनबाट प्रशोधित प्रतिवेदन र अनुसन्धान हो।
‘सत्यम्’का कृतिकारको पृष्ठभूमि पत्रकारिता भएकोले यसका कथामा सामग्री सङ्कलनका क्रममा धेरै पहिलो विधि नै अपनाइएको छ। आफैँ ठाउठाउँमा पुगेर अनेक समस्याको सामना गरेको देखिन्छ। अवलोकनमा मात्रै केन्द्रित हुँदा के बेफाइदा हुन्छ त ? माक्र्सवादीहरू अवलोकनलाई व्यवहारवाद भन्छन्। सिद्धान्तमा नटेकी व्यवहार मात्रै हेर्दा एक खालको कमजोरी प्रकट हुन्छ। किनकि, व्यवहार त परिवर्तन भइरहन्छ। यसो हुँदा, सिर्जना तात्क्षणिक मात्र हुने वा आवेगमा केन्द्रित हुने सम्भावना रहन्छ। ‘सत्यम्’का कथामा कृतिकारले आफ्ना अनुभव र अनुभूति प्रस्ट राखेका छन्।
यसको सामग्री सङ्कलनका क्रममा ऐतिहासिक पक्षको अध्ययनमा कमी देखिन्छ। समाजमा विभेद छ। त्यसको कारण शक्ति सम्बन्ध हो। त्यो ‘सत्यम्’का कथामा देखिएको छ तर त्यसको कारण अर्थात् जरातिर प्रवेश गरेको पाइँदैन। पछिल्लो समय आख्यानकारहरू समस्याको पिँधसम्म पनि पुग्छन्। त्यसो गर्दा पाठकमा विश्वसनीयता तयार हुन्छ। व्यावहारिक पक्ष मात्रै राख्दा त्रुटि हुन सक्छ, जसलाई हामी एक प्रकारको ‘एफेक्टिभ फ्यालेसी’ भन्न सक्छौँ। त्यसैले कथाकारले कथामा इतिहास र व्यवहारलाई मिश्रित रूपमा राख्नुपर्छ।
‘सत्यम्’का धेरै कथामा लेखक आफैँ ‘न्यारेटर’ भएर पीडाको अनुभूति गर्दै हिँडेको छ। अन्तरक्रियात्मक विधि कम, अनुभव र अनुभूतिको मिश्रण बढी पाइनुका कारण यही हो। ‘हिउँखोलाको आलाप’मा भने अन्तरक्रियात्मक विधि अपनाइएको छ। कथा सिर्जनाका क्रममा गहन ऐतिहासिक चेत पनि मिसिएर आए बढी प्रभावकारी हुने थियो।
कुनै कथाकारले कथामा इतिहास मात्र हेर्छन्। त्यो बढी सैद्धान्तिक हुन्छ। यही कारण कतिपय प्रगतिशील भनिएका रचनाहरू कमजोर बन्न पुग्छन्। ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा जोड दिँदा तात्कालीक व्यावहारिक पक्ष किनारा लाग्छन्। यसले रचना कृत्रिम हुन्छ। ‘सत्यम्’का कथामा माओवादी जनयुद्धका घटना जसरी आएका छन्, ती एकरेखीय छन्। देशमा त्यसरी ज्यान फालेर युद्ध गर्नुपर्ने कारण किन निम्तियो ? तात्कालिक सामाजिक र वर्गीय अवस्था हेरेको भए ती कथा अझ गहिराइमा पुग्थे। सामाजिक, आर्थिक, राजनीति पृष्ठभूमिमा दृष्टि पुर्याएको भए नयाँ स्वादसमेत थपिन सक्थ्यो कि ! यसर्थ सिर्जनामा मध्यमार्गी धार बढी नतिजामुखी हुन्छ।
तत्त्व, ज्ञान र मूल्य मिमांसा
कथाको मूल तत्त्व के हो? यसको अस्तित्व कुन विषयले देखाउँछ? कथाले दिने भनेको ‘सिङ्गल इफेक्ट’ नै हो। कथा–दर्शन शुरू भएको धेरै भएको छैन। याडगर आलेन पोले सन् १८४२ मा ‘ग्राम्ज म्याजगिन’ पत्रिकामा एउटा लेख लेखेर कथा यस्तो हुनुपर्छ भनेर प्रस्तावित गरे। अहिलेसम्म कथाको ब्रह्माण्ड यसै तत्त्वमा घुमिरहेको छ। कथाको सौन्दर्यशास्त्र निर्माण भएर त्यसले छुट्टै विधाको रूपमा स्थान पाएको सन् १८४० को दशकबाट नै हो।
कथा किन लेखियो त? किनभने त्यसको निश्चित मूल्य हुन्छ। त्यो तत्त्व नभई कृतिकारले आफ्नो कुरा प्रकट गर्दैन। साहित्यमा सबैभन्दा मिहिनेत गर्नुपर्ने र सचेत हुनुपर्ने विधा कथा हो। कथाका हरेक अंशमा पाठक जोडिने कला हुनुपर्छ। उपन्यासमा एउटा च्याप्टरले तानेन भने अर्कोले तान्न सक्छ तर कथाले भने एकीकृत प्रभाव पार्नुपर्ने हुन्छ। धेरै कुराहरू मिसाएर विचार निर्माण गर्नुपर्छ। यथार्थ चित्रण गर्दै सम्भावना देखाउनुपर्छ। ‘सत्यम्’भित्र कथाकारले ती पक्ष उद्घाटन गर्न धेरै नै मिहिनेत गरेको देखिन्छ।
कथाकारले नैतिक रूपमा आफूलाई धरातलमै राखेका छन्। आफू असहमत भएको पक्ष प्रस्ट दिएका छन्। त्यो विचार एउटा मूल्य हो। ‘सत्यम्’का कथामा कलाको मूल्य प्रकटीकरण भएको छ। मुख्यतः उनले त्यहाँ कुरूपताको दर्शन गराएका छन्। त्यसो गर्दा धेरै कथाहरू वियोगमा पुगेर टुङ्गिएका छन्। ‘चुन्कीको रहस्य’मा चुन्कीको प्रेमले पूर्णता पाउला भन्दै गर्दा अन्त्यमा वियोग नै हुन पुग्छ। ऊ एकाएक हराउँछे तर कारण भने स्पष्ट देखिँदैन।
कथाले एकीकृत प्रभाव दिने काम गर्नुपर्छ। ‘सत्यम्’का अधिकांश कथामा त्यो प्रभाव प्रबल छ तर कति ठाउँमा भने संवाद मात्र छन्। ती संवादको खास असर के हो भन्ने प्रस्ट छैन। त्यसैले, केही कथाको अन्त्य अलि प्रभावशाली हुन सकेको छैन। ‘चुन्कीको रहस्य’मा रहस्योद्घाटन गर्ने साँचो नै दिइएको छैन। के कारणले चुन्की हराई भन्नेमा पाठकलाई विश्वस्त पार्नुपथ्र्यो। ‘छुटेका पानीहाँस’ कथामा पनि अन्यौल देखिन्छ। पाठक विश्वस्त एवम् अर्थपूर्ण नहुँदा कथाको संरचनामा केही शिथिल र अर्थनिर्माण भताभुङ्ग जस्तो पनि भएको छ।
कथा भन्ने बिम्बमार्फत नै हो। ‘छुटेका पानीहाँस’, ‘क्रमु’, ‘चराहरू उडे’ जस्ता धेरै कथा बिम्बात्मक छन्। बिम्बले अभिव्यक्तिलाई गहिराइ दिन्छ। सङ्केतले धेरै खालका अर्थ सिर्जना गर्छ तर त्यसले कतिपय विषय जटिल र रहस्यमय पनि बनाइदिन्छ। रहस्यमय हुनु राम्रो हो तर पाठकलाई बुझ्न गाह्रो हुने गरी होइन। यसैले, कथामा रहस्यमयी ढोका खोल्ने साँचो त्यसभित्रै हुनुपर्छ। बल्ल पाठक त्यो ढोका खोलेर भित्र प्रवेश गर्न सक्छ; तब उसको मनमा त्यसको झल्मलाहट प्रतिबिम्बित हुन्छ। यसरी कथाको मूल उद्देश्य मानवीय संवेदनालाई उद्घाटन गर्ने हो।
‘सत्यम्’मा सांस्कृतिक पक्ष ज्यादै बलियो छ। कथामा मानवीय अनुभूति दिने र संवेग बढाउने तत्त्व संस्कृति हो। त्यसले मानव समुदायलाई जोडेको हुन्छ। विभिन्न भूगोल र परिवेश (गुरुङ, थारु, खस आदि) का लोकगीत यति मिठो गरी कथामा मिसिएर आएका छन्; जस्तो फिल्ममा गीतहरू मिलाएर राखिन्छ। त्यसका पनि केही कमजोरी त हुन्छन्। पाठक एउटा भावमा बगिरहँदा बीचमा गीततिर अल्झिन सक्छ। त्यसको अर्थबारे घोरिन अनावश्यक रूपले रोकिनुपर्ने हुन्छ। उसले खल्लो अनुभूत गर्न सक्छ। तथापि, यसमा पाठकले खल्लो अनुभूति नगर्ने गरी गीतहरू प्रवेश भएका छन्।
‘बागियान’ कथा बेजोड नै छ। एउटा दलित केटो रोल्पाबाट आएको। भाषिका पनि निकै मिठासपूर्ण तरिकाले प्रस्तुत भएको छ। त्यो पात्र काठमाडौँ अउँछ। यहाँको विभेद पनि कृतिकारले देखाएका छन्। त्यही विभेदले ऊ पछि माओवादी छापामार बन्छ। विभेदलाई गहिरोसँग पहिचान गरेर प्रगतिशील धार समातिएको छ। इतिहासका आवश्यक पाटा पनि उल्लेख भएका छन्। यो जीवनको ज्ञानधारा प्रकट गर्ने कथा हो।
‘सत्यम्’ नामले नै यसका कथालाई ‘सत्यम्, शिवम् र सुन्दरम्’को दर्शनसँग जोड्छ। कथाले पाठकमा एकीकृत प्रभाव पार्नुपर्छ। ‘सत्यम्’का कथाहरू एकल प्रभाव पार्न सफल छन् तर समग्रमा अन्त्यमा अझै मिहिनेत गर्नुपर्ने ठाउँ छोडिएको छ। तत्त्व मीमांसाको कसीमा राखेर हेर्दा यी कथाहरू शक्तिशाली हुँदाहुँदै कतिपय स्थानमा पाइन हाल्न नपुगेको देखिन्छ। धेरैजसो कथाको ‘कथावाचक’ पुरुष पात्र छ, जो कताकता लेखककै छाया लाग्छ। यसकारण कति ठाउँमा पाठकलाई ऊ ‘पूर्वाग्रही’ लाग्न सक्छ। केही कथामा अन्त्य पहिले नै अनुमान गर्न सकिने भाव झल्किएको पाइन्छ। ज्ञान मीमांसाको दायरा फराकिलो बनाएर पात्रात्मक दृष्टिमा विविधता ल्याएको भए तिनमा अझै बहुल वा समावेशी भाव झल्किन सक्थ्यो।
कथाकार वियोगीले ‘युफोरिया’ (सुखद् भाव) भन्दा ‘डिस्टोरिया’ (नकारात्मक÷पीडादायी भाव) लाई बढी प्रश्रय दिएका छन्। समाजका विसङ्गति, कुरूपता र विखण्डनको उद्घाटन गर्नु नै उनका कथाको मुख्य उद्देश्य देखिन्छ। एउटा स्मरणीय पक्ष के भने विद्रूपीकरण अर्थात् अभिघात मात्र समाजको मूल्य होइन। यी घटनालाई उजागर गर्दै कथाले सानो सम्भावनाको उज्यालो देखाउन सक्नुपर्छ। घटनालाई मूल्यबोधको कित्तामा राखेर हेर्नुपर्ने हुन्छ। लेखकमा यसको अंश केही मधुरो देखिन्छ।
इथोस, प्याथोस र लोगोस
कथा, लेखन वा अभिव्यक्तिमा ३ कुरा प्रकट हुन्छन्। कुन पक्ष बलियो भएमा कुन विधा बन्छ भन्ने त्यसले देखाउँछ। इथोस भनेको ज्ञान हो, ‘सत्यम्’का कथामा ज्ञान प्रबल छ। कथाको परिवेशबारे एक–एक ठाउँको चित्रण छ तर केही ठाउँमा त्यो दोहोरिएको छ। सकेसम्म फरक कथामा एउटै परिवेश र उही नाम दोहोरिनु राम्रो हुँदैन। वास्तविक समाज र भोगेको परिवेशको ज्ञानमा सत्यता छ। स्याङ्जा होस् कि बर्दिया होस् वा अछाम— त्यहाँको परिवेश समेट्दा लोकगीत र लोकसाहित्य सुन्दर तरिकाले समेटिएका छन्। कथामा इथोस पक्ष बलियो छ।
‘प्याथोस्’ अनुभूति र संवेग सिर्जना गर्ने क्षमता हो। स्मृति अनुभूतिहरूको संग्रह हो। ‘सत्यम्’का कथामा प्याथोस पक्ष पनि सबल छ। गहिराइमा पुगेर भय सिर्जना गर्न सक्ने क्षमता कृतिकारमा देखिन्छ। ‘टाउको’ले त एकदम भयभीत बनाउँछ, अन्त्यमा। मान्छेको टाउको ल्याएर आँगनमा राखेको छ। समस्या के हो भने एउटा लेखकले पाठकमा कतिसम्म भय सिर्जना गर्ने ? ४–५ कथामा निकै भयग्रस्त परिस्थितिको सिर्जना छ। धेरै कथामा समान तरिकाले भय सिर्जना गर्नु पनि उपयुक्त मानिँदैन।
देशका अनेक भूभागमा पुगिरहने कृतिकारले आफ्नो मात्रै होइन, अरूका पृथक् अनुभूति समेत कथामा ल्याउन सक्नुपथ्र्यो। जस्तो, इन्द्रबहादुर राईले ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ कथामा आफ्नो अनुभूति लेखेका होइनन्, अरूबाट सुनेका कुरा कथामा बुनेका हुन् तर पाठकलाई त्यहाँ उनी आफैँ पुगेजस्तो लाग्छ। यसैले कथामा विविध अनुभूतिले सुगन्ध थप्न ठुलो मद्दत गर्छ।
आउँदा कथामा उनले विविध परिवेश लिएर आउने नै छन्। वियोगीमा कथा लेख्ने क्षमता निकै प्रबल छ। आफ्नो यथार्थ स्वीकार गरेर नयाँ सौन्दर्यका सम्भावनाहरू जसले खोज्छ, त्यही लेखक नै सफल हुन्छ। त्यही लेखकले नै भविष्यमा अझ राम्रो कृति सिर्जना गर्न सक्छ। त्यस्तो गम्भीर कृति सिर्जना गर्न हरेक लेखकलाई सधैँभरि चुनौती रहन्छ। चुनौती सामना गर्न नसक्ने लेखकले समयमै सन्यास पनि लिन्छन्।
‘सत्यम्’का कथाकारसँग विविधतामय अनुभूति छन्। तिनलाई सशक्तरूपमा प्रस्तुत गरेर घामछाया वा इन्द्रेनीमय सिर्जना गर्न सक्ने क्षमता उनमा देखिन्छ। आगामी दिनमा त्यसले पक्कै मूर्तता पाउने छ। त्यही मान्छेसँग केही विशेष सिर्जना आशा गर्न सकिन्छ, जसले आफूलाई नित्य नयाँपनतिर हिँडाइरहेको छ।
‘लोगोस’ भनेको तर्क हो। कथा बौद्धिक तरिकाले रहस्यहरूबाट बुनिएको रचना हो। लोेगोस पक्ष निबन्धमा बढी प्रयोग हुन्छ। निबन्धका कुरा निबन्धकारकै हुन्छन् तर आख्यानमा भने आख्यानकारको सन्दर्भमात्र जोडिँदैन। ‘सत्यम्’का कतिपय कथामा कथाकार र कथयिता एउटै व्यक्ति भएर आएको पाइन्छ। त्यसो नभएको भए उत्तम हुन्थ्यो। शङ्कर लामिछाने भन्छन्— कलामा एउटै विषय, शिल्प दोहारिएर आउनु लेखकको मृत्यु हुनु हो। यसैले, ‘सत्यम्’का विषय, परिवेश, कथयिता, पात्र आदि दोहोरिने कार्य कम भएको भए अझ राम्रो हुन्थ्यो।
‘सत्यम्’मा भाषणकला वा ‘रेटोरिक्स’का उपर्युक्त तीनै युक्तिहरू प्रयुक्त छन्। प्याथोस, कथाहरूमा सबैभन्दा बढी यसैको प्रयोग भएको छ। पाठकको संवेदना, दया र भयलाई कथाले भित्रैसम्म छोएका छन्। इथोस अर्थात् परिवेशीय दृष्टि, स्याङ्जा, अछाम, बर्दिया, रामेछाप जस्ता भौगोलिक र सांस्कृतिक पर्यावरणको चित्रणमा लेखकको पकड बलियो छ। लोगोस अर्थात् तर्क र कार्यकारण सम्बन्धमा भने कतै–कतै कमजोरी देखिन्छ।
‘राँकेभूतको लीला’ र ‘टाउको’ कथामा द्वन्द्व र वियोगको मनोविज्ञान पाइन्छ। यी कथाहरूले वि.सं. २०५२ सालदेखि शुरू भई २०६२ सालसम्मको माओवादी सशस्त्र द्वन्द्वको समय र त्यसपछिको मानसिक असर बोकेका छन्। ‘चुन्कीको रहस्य’मा सामाजिक यथार्थलाई मूर्तता दिँदादिँदै पनि कार्यकारण सम्बन्ध (लोगोस) अलि कमजोर देखिन्छ। यसमा पाठकले कथाकारबाट अलिक सुन्दर संयोजनको अपेक्षा राख्न सक्छन्।
‘हिउँखोलाको आलाप’मा पर्यावरणीय चिन्ता र निबन्धपरकता हाबी देखिन्छ। यो सर्जकको पछिल्लो समयको मुख्य चासो अर्थात् ‘पर्यावरणीय समस्या’मा केन्द्रित छ। विकासका नाममा भएका विनाश र जलवायु परिवर्तनले हिमाली तथा पहाडी जनजीवनमा पारेको प्रभाव यसको केन्द्रीय तत्व हो। यो कथा अधिक निबन्धात्मक भावले थिचिएको छ। यसको अर्थ, कथाकारले पात्रमार्फत ‘देखाउनु’भन्दा आफैँले ‘भन्नु’ वा ‘व्याख्या गर्नु’लाई प्राथमिकता दिएका छन्। कथामा भन्ने (टेलिङ) ‘आग्रह’ ज्यादा देखिँदा साहित्यिक सौन्दर्यरस केही हदसम्म ओझेल पारेको देखिन्छ। तथापि, यसले वर्तमान विश्वको शसक्त मुद्दा भने आत्मसात् गरेको छ।
स्मृति र परिकल्पना
कथामा स्मृतिले विगत, इन्द्रियगत अनुभूतिले वर्तमान र परिकल्पनाले भविष्यको प्रतिनिधित्व गर्छन्। ‘सत्यम्’मा स्मृति र अनुभूति बेजोड छन्। त्यसको प्रचुरतासँगै कल्पनाको उडान केही कम देखिन्छ। तथापि, ‘बागियान’, ‘चराहरू उडे’, ‘स्वप्नलोक’ र ‘रित्तो गुँड’ जस्ता कथाहरूमा भने परिकल्पना र अन्त्यको तालमेल निकै राम्रो भएको छ। यो सन्तुलनले गर्दा कथाको अन्त्यमा पाठकको मानसिकतामा एउटा वैचारिक झट्का सिर्जना हुन्छ। कथामा प्रकटित आदर्श अर्थात् ‘हुनुपर्ने के थियो’ र यथार्थ अर्थात् ‘के भयो’ भन्ने बारे पाठकलाई एक पटक सोच्न बाध्य बनाउँछ।
‘सत्यम्’का अधिकांश कथाको अन्त्यमा पुग्दा ‘शिथिलता’ र ‘वियोग’ ज्यादा पाइन्छ। सर्जकले वर्तमानको सङ्कट त देखाएका छन् तर त्यसबाट निस्कने ‘सम्भावना’को दृष्टि भने कतै अधुरो त कतै धुमिल छ। यसले कथा टुङ्गिँदा पाठकमा एक प्रकारको दिक्दारलाग्दो भारीपन वा नकारात्मक भाव पनि पैदा गर्न सक्छ। यद्यपि, कथाहरू पत्रकारिताको सूक्ष्म अवलोकन र साहित्यको कोमल अनुभूतिबिचका सेतुका रूपमा प्रकट भएका छन्। ‘स्मृति’बाट अगाडि बढेर कथामा ‘परिकल्पना र शिल्प’मा अझ बढी ध्यान दिनुपर्ने ठाउँ छन्।
प्रभाव र भविष्य
लेखकीय विचारको ‘आग्रहीकरण’ बढी हुँदा ‘सत्यम्’का एक–दुई कथालाई निबन्धात्मक भावले थिचेका लाग्छन्। पात्रमाथि आफ्नै विचार लाद्नुभन्दा तिनलाई स्वतन्त्र छोडिदिँदा नै ती जीवन्त बन्छन्। कथाकार लक्ष्मण वियोगीले अगामी दिनमा यसतर्फ पक्कै विचार पुर्याउने छन्। यस कृतिले उनलाई एउटा सूक्ष्म द्रष्टा र संवेदनशील कथाकारका रूपमा स्थापित गरेको छ। अन्तरपाठीयता (लोकगीत र स्थानीय भाषाको प्रयोग) र क्यामेराको लेन्सले जस्तै परिवेशको तीक्ष्ण अवलोकन गर्न सक्नु उनका शक्ति हुन्। बिम्बका माध्यमबाट सारांश भन्न सक्ने खुबीको प्रचुरता उनमा छ।
अतः ‘सत्यम्’ नेपाली कथा क्षेत्रको एउटा महत्त्वपूर्ण प्राप्ति हो। वियोगीले आफ्नै उपनाम जस्तै समाजका ‘वियोगगात्मक पक्ष’लाई कलात्मक रूप दिएर कथामा पस्किएका छन्। उनले आफ्ना आगामी कृतिमा ‘समाख्याताको वर्णन’ भन्दा ‘पात्रको अन्तरक्रिया’ र ‘ऐतिहासिक आलोचनात्मक दृष्टि’लाई बढावा दिए भने उनको सिर्जनात्मक भविष्य अझै उज्ज्वल र सुन्दर हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
