यो चुनावमा संविधान मास्ने र रक्षा गर्ने आमनेसामने हुन्छन् : प्रचण्ड

नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनलाई सामान्यरूपमा नलिने नेता कार्यकर्तालाई आग्रह गरेका छन्। उनले देशमा अहिले दुईवटा विचार र प्रवृत्ति आमनेसामने भएको पनि बताए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने प्रयास भइरहेको भन्दै नेता-कार्यकर्तालाई सतर्क रहन आग्रह गरेका हुन्।

उनले नेकपा एमालेप्रति लक्षित गर्दै  फेरि संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरितिर धकेल्ने कसरत भइरहेको धारणा राखे। उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे।

अध्यक्ष दाहालले देशमा पश्चगमन र अग्रगमनका दुईवटा विचार र प्रवृत्ति देखापरेको उल्लेख गर्दै आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।

“अहिले दुईवटा विचार तथा प्रवृत्ति आमनेसामने भएका छन्। एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर। एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर। एउटा लोकतन्त्रविरुद्ध अर्को लोकतन्त्रका पक्षमा। त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन,” उनले भने, “यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरी जनताको बीचमा बुझाउन आग्रह गर्दछु।”

अध्यक्ष दाहालले काठमाडौं- ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलगायतका युवा नेतृत्व संसद‍्मा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे।