सभामुख उम्मेदवारका प्रतिबद्धता : तटस्थ र पूर्वाग्रहरहित संसद्

प्रतिनिधिसभाको सभामुखका लागि प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दिएका छन्।

काठमाडौँ- प्रतिनिधिसभाको सभामुख पदका लागि प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको छ।

सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर घिमिरेले दिउँसो १ बजे तथा न्यौपानेले अपराह्न करिब ४ बजे उम्मेदारी दिएका थिए। 

सभामुखको निर्वाचन भोलि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ। उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ।

प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो। संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ। 

मनोनय दर्तापछि सञ्चारकर्मीको जिज्ञासामा सभामुखका उम्मेदवार घिमिरेले आफू निर्वाचित भएमा विगतको शिक्षा र राजनीतिक दलसँगको परामर्श एवं सहमतिका आधारमा संसद्का बैठक तथा अरु प्रक्रियालाई व्यवस्थित गर्ने बताए।

उनले भने, “म त्यो जिम्मेवारीमा पुग्ने निश्चत नै छ, विगतबाट शिक्षा लिँदै आरोप, प्रत्यारोप, पूर्वाग्रहबाट टाढा रही यथार्थ ढङ्गले ठिक बाटोबाट सदनलाई अघि लग्ने विचार छ, सभामुखले खेल्ने भूमिकामा कुनै कमी हुन नदिई काम गर्नेछु।”

अर्की उम्मेदवार न्यौपानेले प्रतिनिधिसभाका सदस्यको मतले आफू निर्वाचित हुन्छु भन्नेमा ढुक्क रहेको प्रतिक्रिया दिइन्। उनले भनिन्, “सभामुखमा निर्वाचित भइसकेपछि सबैको सभामुख हुने भएकाले सभा सञ्चालन गर्दा तटस्थ रही संसद् र सांसदप्रति न्याय गरी सकेसम्म राम्रो ढङ्गले सदन चलाउँछु भन्ने प्रण गर्छु।”