ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा उनले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेको बताएका हुन्। उनले ‘ढोक्सा र माछा’को कथा हालेर सरकारलाई पिँजडाभित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई आग्रह गरे। 

ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गरेका थिए। त्यसको जवाफ दिनुपर्ने भन्दै सांसद शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट पारे। 

उनले आफैँले संविधानले नचिनेको भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व किन लिनु भयो भन्दै ओलीलाई प्रश्न समेत गरे। 

महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन पनि सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरे। 

आफ्नो दल प्रमुख प्रतिपक्ष भएको र उसले सबै भन्दा ठूलो दलको नाताले पनि सभामुख पद पाउनुपर्ने उनको भनाई थियो। महामन्त्री शर्माले केपी ओली प्रधानमन्त्रीत्व कालको स्मरण गराउँदै आफूहरूलाई प्रधानमन्त्रीलाई सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति नचाहिएको समेत बताए। 

महामन्त्री शर्माले सभामुखका लागि ईश्वरीदेवी न्यौपाने, शालीन, अनुभवी र सुशिक्षित नेतृ भएको दाबी समेत गरे।