चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटेर करिब साढे ७ प्रतिशतमा झरेको छ।
काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटेर करिब साढे ७ प्रतिशतमा झरेको छ।
नेपाल विद्युत् प्राधिकरणले नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्र प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरेको अभियानबाट गत वर्षको मंसिरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाएको हो।
गतवर्ष मंसिरसम्म वितरणतर्फको विद्युत् चुहावट ९.२३ प्रतिशत थियो। आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत रहेकोमा यो वर्षको मंसिरसम्म भने ७.४९ मा झारेको प्राधिकरणले जनाएको छ।
मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ। ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ।
मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ। प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२.०५ प्रतिशत छ। गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो।
प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालु आर्थिक वर्षमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको बताए।
प्राविधिक र गैह्र प्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।
“यस अवधिमा नयाँ सब स्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सब स्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ हुँदा चुहावट घटेको हो”, घिसिङले भने, “हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सब स्टेसन, र फिडर लाइनहरूको सुदृढीकरण तथा नयाँ सब स्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा हो।”
जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिँदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए।
प्राधिकरणका अनुसार सब स्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो। गैह्र प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको पनि प्राधिकरणले जनाएको छ।
सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेशमा
प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरणकेन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरमा देखिएको छ।
प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको मंसिरसम्ममा समग्र विद्युत् चुहावट १२.८० प्रतिशत छ। अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो। सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४४.८३ प्रतिशत विद्युत् चुहावट रहेको छ। गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४३.८२ प्रतिशत थियो।
रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत् चुहावट ४०.५५ प्रतिशत रहेको थियो। गत वर्ष त्यस केन्द्रको चुहावट ७.२२ प्रतिशत थियो। बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३७.८२ प्रतिशत छ। गतवर्ष त्यस केन्द्रको चुहावट ३९.८० प्रतिशत थियो।महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ३७.६१ प्रतिशत रहेकोमा यस वर्ष ३४.५१ प्रतिशत रहेको छ।
प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको मंसिरसम्मको समग्र विद्युत् चुहावट ७.४२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा चुहावट ९.९४ प्रतिशत थियो। प्रादेशिक कार्यालय अन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रङगेली वितरण केन्द्रको छ। यस केन्द्रको विद्युत् चुहावट २०.५२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष १५.६० प्रतिशत थियो।
बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रहरूको अघिल्लो वर्षको मंसिरसम्ममा ४ प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष सोही अवधिमा ४.५३ प्रतिशत रहेको छ। डिभिजन कार्यालय अन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६४ प्रतिशत विद्युत् चुहावट रहेको छ। गत त्यस केन्द्रको ३०.१४ प्रतिशत चुहावट थियो।
बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौँ मातहतका २० वटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट ५.३३ प्रतिशत रहेको छ। गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रहरूको गत वर्षको मंसिरसम्मको समग्र विद्युत् चुहावट७.९१ प्रतिशत रहेकोमा यस वर्ष ६.४३ प्रतिशत रहेको छ।
लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट ६.०२ प्रतिशत रहेको छ। गत वर्ष ९.४८ प्रतिशत थियो। कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट गुल्मी वितरण केन्द्रको १९.७९ प्रतिशत रहेको छ। गत वर्ष केन्द्रको चुहावट १९.९९ प्रतिशत थियो।
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रहरूको मंसिरसम्मको समग्र विद्युत् चुहावट ५.९८ प्रतिशत रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
