देवराज घिमिरे बने नयाँ सभामुख

प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)बाट सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। 

काठमाडौँ- प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)बाट सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ सदस्यमध्ये १६७ सदस्यको समर्थन प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे।

घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १०० मत परेको थियो। एकजना तटस्थ बसेका थिए। यसका साथै ज्येष्ठ सदस्य राणाले ईश्वरीदेवी न्यौपानेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नु नपर्ने घोषणा गरे।

न्यौपानेलाई कांग्रेसले सभामुखको उम्मेदवार बनाएको थियो र उनलाई नेकपा एकीकृत समाजवादी लगायत दलको समर्थन थियो। नवनिर्वाचित सभामुख घिमिरे यसअघि २०५६ सालमा राष्ट्रिय सभाको सदस्य थिए।

एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।