सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव छविलाल विश्वकर्मालगायत नेताले रुचि राखेका थिए। तर एमाले अध्यक्ष केपी ओलीले पहिलोपटक प्रतिनिधिसभाको सांसद निर्वाचित विश्वासपात्र घिमिरेलाई अवसर दिए।
काठमाडौँ– प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनी सत्ता गठबन्धन दलहरूको साझा उम्मेदवार थिए।
सभामुख चयन प्रक्रियामा संसद्मा उपस्थित २६८ सांसदमध्ये १६७ मत पाएर घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। उनको विपक्षमा १०० मत परेको छ भने एक जना सांसदले कसैलाई पनि मत दिएनन्।
सभामुखका लागि नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो। तर घिमिरेको पक्षमा बहुमत पुगेपछि प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेका पशुपतिशमशेर जबराले न्यौपानेलाई सभामुख निर्वाचित गर्ने प्रस्ताव पेश गर्नु नपर्ने सदनलाई जानकारी गराएका थिए।
यसअघि, सत्ता गठबन्धनका दलले सभामुख एमालेले लिने सहमति गरेका थिए। सोहीअनुसार एमालेले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्जसमेत रहेका सांसद घिमिरेलाई उम्मेदवार बनाएको थियो। बुधबार घिमिरेले सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा घिमिरे झापा–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनी पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। यसअघि उनी २०५६ सालमा राष्ट्रियसभा सदस्य बनेका थिए।
बाल्यकाल र शैक्षिक अवस्था
घिमिरे २०१३ जेठ १३ गते ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ३ मा बुबा पदमप्रसाद र आमा भीमकुमारीको कोखबाट जन्मिएका हुन्। बाबुआमाका १२ जना सन्तानमध्ये उनी माइलो हुन्।
उनले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरूआत गरेका थिए। ताप्लेजुङकै भानु पब्लिक हाई स्कुलबाट २०२९ सालमा एसएलसी उत्तीर्ण गरेका घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र काठमाडौँको त्रिचन्द्र क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका छन्।
४५ वर्षदेखि लगातार कम्युनिस्ट पार्टीमा
एसएलसी उत्तीर्ण गरेपछि उनी राजनीतिमा सक्रिय भएका थिए। २०३१ सालदेखि कम्युनिस्ट पार्टीमा जोडिएका उनी नेकपा माले गठनअघि खुलेको कोअर्डिनेशन कमिटी (कोके) को विद्यार्थी संगठनमार्फत् पार्टीमा सक्रिय भए। २०३५ सालमा नेकपा माले गठन भएपछि उनले पनि सदस्यता प्राप्त गरेका थिए।
नेकपा मालेले उनलाई स्थापनालगत्तै तेह«थुम र पाँचथर जिल्लाको संगठकको जिम्मेवारी दिएको थियो। २०३९ सालमा उनी इलाम जिल्लाको पार्टी प्रमुख बने। २०४९ सालमा नेकपा माले र मार्क्सवादीको एकीकरण भएपछि नेकपा (एमाले) गठन भएको थियो। २०४९ माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौँमा भएको एमालेको पाँचौ महाधिवेशनबाट घिमिरे वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। २०५० सालमा उनले एमाले मेची अञ्चल इञ्चार्जको जिम्मेवारी पाएका थिए।
२०५८ मा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारी पाएका घिमिरे इन्जिनियरिङ विभाग, युवा संघ नेपाललगायतका जनवर्गीय संगठनको पनि इन्चार्ज भएका थिए। २०७५ सालमा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि घिमिरेलाई प्रदेश १ अध्यक्षको जिम्मेवारी दिइएको थियो।
चितवनको सौराहमा २०७८ मंसिर १० मा भएको पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट घिमिरे पार्टीको स्थायी कमिटी सदस्य चयन भएका थिए। त्यसयता उनी प्रदेश १ को इन्चार्जको जिम्मेवारीमा छन्।
भूमिगत राजनीतिमा सक्रिय हुँदा तत्कालीन पञ्चायती सरकारले पटक–पटक पक्राउ पुर्जी जारी गरेको थियो। उनी पार्टी संगठनमा इमान्दार र मेहनती नेताका रूपमा चिनिन्छन्। भूमिगत समयमा २०३५ देखि २०४६ सम्म उनले संगठन र नेतृत्व गरेका जिल्ला तेह«थुम, पाँचथर र इलाममा अहिले पनि कम्युनिष्टको बलियो जनाधार छ।
२०४८ सालको आमनिर्वाचनमा पार्टीलाई जित दिलाउनकै लागि आफूले पाएको टिकट पनि उनले अर्को नेतालाई दिएका थिए। त्यसयता इलाममा एमाले विजयी हुँदै आएको छ। २०७९ सालमा भएको स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा पनि उनले इन्चार्जको जिम्मेवारी सम्हालेको प्रदेश १ मा एमाले बलियो शक्तिका रुपमा जित हासिल गर्न सफल भएको छ।
नेतृत्वको विश्वासपात्र
पुस १० गते नयाँ राजनीतिक समीकरण निर्माण भएसँगै सभामुख एमालेले पाउने निश्चित भएको थियो। त्यसपछि सभामुख बन्न नेताहरुको दौडधुप तीव्र भएको थियो।
उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव छविलाल विश्वकर्मा, विद्या भट्टराई, रघुजी पन्तलगायतका नेताले सभामुखका लागि रुचि देखाएका थिए। पार्टीमा सिनियर नेताहरूले आकांक्षा देखाइरहेका बेला घिमिरेले अवसर पाउन मुस्किल हुने आकलन धेरै नेताको थियो। तर पार्टी अध्यक्ष केपी ओलीका विश्वासिला पात्र घिमिरेले बाजी मारे।
“उहाँ पार्टी अध्यक्षको निकै विश्वासिलो नेता हुनुहुन्छ। उहाँले इच्छा राखिसकेपछि अरूले सभामुख हुन पाउने स्थिति नै थिएन”, एमालेका एक नेता भन्छन्, “उहाँ राष्ट्रपतिको पनि निकै विश्वासिलो मानिस हुनुहुन्छ।”
घिमिरे तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीले पनि विश्वास गरेका नेताका रूपमा चिनिन्थे। २०७२ सालमा पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा घिमिरे उनको सचिवालय प्रमुख भएर काम गरेका थिए।
सभामुख निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै घिमिरेले संविधान र कानूनले प्रदान गरेको अधिकार निस्पक्ष र इमान्दार भएर पालन गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
