ग्राउण्ड ह्याण्डलिङमा नेपाल एयरलाइन्सको विकल्प खोज्दै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवा निगमको विकल्प खोज्ने भएको छ। निगमका कर्मचारीले आन्दोलन र हड्ताल गर्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिम बढेको प्राधिकरणको भनाइ छ।

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवा निगमको विकल्प खोज्ने भएको छ।

बुधबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका हुन्। 

निगमका कर्मचारीले आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उनको भनाइ। उनले निगममा हुँदै आएको राजनीतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवा अवरोध हुनसक्ने उल्लेख गर्दै प्राधिकरणले वैकल्पिक व्यवस्थासहितको हवाई उडान गर्ने विषयमा चाँडै निर्णय लिने बताए। 

“कानूनको सम्मान कार्यान्वयन र ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्था हुनुपर्छ। ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्थासहितको हवाई उडान गर्ने विषयमा क्यान सचेत छ। उपयुक्त समयमा निर्णय हुन्छ,” उनले भने।

महानिर्देशक अधिकारीले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिँदा निजीलाई दिएको भनेर मिडियाले प्रेसर दिएका कारण पछाडि हटेको बताए। उनले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छुभन्दा कानूनी रूपमा प्राधिकरणले अनुमति दिनुपर्ने तर्क गरे। 

नेपाल एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ गर्दा सेवा धेरै महँगो र स्तरीयतामाथि पनि प्रश्न उठेको उनको भनाइ छ। "विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा स्तरीय, भरपर्दो र अन्तर्राष्ट्रिय बजारभन्दा सुलभ हुनुपर्‍यो," उनले भने।

अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ। अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। निगमले शुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ।