गठबन्धनमा आवद्ध दलले एकअर्कालाई भोट नहाल्नु आत्मघातः प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष दाहालले गठबन्धनमा आवद्ध दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात हुने बताएका छन्। उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरे आफूले पनि जित्न नसक्ने चेतावनी दिए।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा आवद्ध दलले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका छन्।

शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनका दलले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका हुन्। उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारलाई सचेत गराए। 

“यदी तपाईंहरूमध्ये कसैले चाहे जुनसुकै चुनाव चिह्नको भए पनि मेरोमा चाहीँ हाल्छु अर्कोमा हाल्दिनँ भने आफ्नै आत्माघात गरेजस्तै हो। तपाईंहरूले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट गर्नुभएन भने तपाईं पनि जित्नुहुन्न,” उनले भने।

अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफूले रूख चिह्नमा छाप लगाइसकेको र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया-हथौडामा छाप लगाइसकेको टिप्पणी गरे। उनले वामपन्थी र लोकतन्त्रवादी शक्ति मिलेर नै देशमा ठूल्ठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडि जानुपर्ने बताए। 

“अहिले प्रतिगमनको जो खतरा छ, त्यसलाई परास्त गर्ने पनि हामी मिलेर मात्रै सकिन्छ। त्यसकारण हामी कसैले पनि इतिहासको यो सत्यलाई नजरअन्दाज नगरौँ,” उनले भने।

अध्यक्ष दाहालले परिवर्तनविरोधी र निरंकुशताका पक्षधरको अर्को गठबन्धन बनेको पनि उल्लेख गरे। उनले सो गठबन्धनमा देशको एकतालाई खण्डित गर्न चाहाने केन्द्रित भएकाले हल्का रूपमा नहेर्न पनि नेता, कार्यकर्तालाई आग्रह गरे। 

“निरंकुशताका पक्षधर, सामन्तवादी, राजावादी ती सबै शक्तिहरू देशको एकतालाई खण्डित गर्न चाहने तत्वहरू पनि अर्को गठबन्धनमा केन्द्रित छन्। हेक्का राखौँ । हल्का रूपले नहेरौँ” उनले भने। उनले गठबन्धनभित्र जहाँ जसको उम्मेदवारी छ उसैलाई जिम्मेवारीबोध र खुशीका साथ भोट हाल्न आग्रह गरे।