विदेशी संस्कृतिको प्रभुत्व बढाउने कुचेष्टा हुँदै छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले उत्पीडित जातिलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरूले ठूलो लडाइँ गरेको बताए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवर्द्धन हुन नदिने कुचेष्टा भइरहेको बताए। अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाइँ जारी रहेको उनको भनाइ छ।

आइतबार तामाङ समुदायको पर्व ल्होसारको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताए।

"हामी एकातिर सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाइँ जारी छ भने वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि नयाँ परिस्थितिमा छौँ। त्यसकारण हामीले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, हाम्रा ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व हामी सबैको काँधमा छ", उनले भने।

प्रधानमन्त्री दाहालले उत्पीडित जातिलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरूले ठूलो लडाइँ गरेको बताए। नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको उनले उल्लेख गरे।