पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पाँच वर्ष चुनाव लड्न नपाउने

पाकिस्तानी निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचनमा भाग लिन आयोग्य ठहर गरेको छ।

तस्वीर: एपी

पाकिस्तानी निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने निर्णय गरेको छ। योसँगै खानको संसद् सदस्यको पदसमेत रद्द हुने भएको छ।

आयोगको शनिबारको निर्णयपछि खानले आगामी पाँच वर्ष चुनाव लड्न पाउने छैनन्। आयोगको निर्णयविरुद्ध खानका समर्थकले आयोगअगाडि प्रदर्शन गरेका थिए।

आयोगका प्रमुख आयुक्त सिकंदर सुल्तान रजाको नेतृत्वको चार सदस्यीय बेन्चले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री पदमा बहाल रहँदा खानले विभिन्न देशबाट महँगा उपहार लिए र बेचेको विपक्षीको आरोप थियो।

आयोगका अनुसार इमरानले उपहारका रूपमा पाएका दुई करोड १५ लाख पाकिस्तानी रुपीका सामान पाँच करोड ८० लाख रुपैयाँमा बेचेको थियो। खानलाई उपहारका रूपमा एउटा बहुमूल्य घडी, महँगो कलम, एउटा औँठी र चारवटा रोलेक्स घडी प्राप्त भएको आयोगले जनाएको छ।

सरकारको प्रमुखलाई प्राप्त भएका उपहार सरकारी आर्काइभमा दिनुपर्नेमा उनले त्यसो नगरी आफैँले बेचेको निर्वाचन आरोपको ठहर छ। पाकिस्तानमा १० हजार रुपीसम्मको उपहार आफैँले राख्न पाउने व्यवस्था छ।

यदि, १० हजार पाकिस्तानी रुपीभन्दा माथिको उपहार भए २० प्रतिशत रुपैयाँ दिएर आफैँसँग राख्न पाइने र चार लाख पाकिस्तानी रुपीभन्दा बढी मूल्यका उपहार भए प्रधानमन्त्री र राष्ट्रपतिले मात्र किन्न पाउँछन्। उनीहरूले खरिद नगरे त्यो लिलामीको प्रक्रियामा जान्छ।

तर, खानले आफूले बेचेका उपहारको नाफा कर कार्यालयका अधिकारीसँग लुकाएको आरोप उनीमाथि थियो। विश्वासको मत जुटाउन नसकेपछि खान सत्ताबाट बाहिरिएका थिए। आयोगको यो निर्णयले नयाँ झट्का दिएको छ।

आगामी पाँच वर्षसम्म निर्वाचनका अयोग्य ठहर गर्ने आयोगको निर्णयविरुद्ध खानको पार्टी  पाकिस्तान तेहरिक-ए-इन्साफ (पिटिआई)ले मुद्दा दायर गर्ने तयारी गरेको छ।