जोर्नी र हड्डीमा असाध्यै पीडा हुने हुँदा यो संक्रमणलाई ‘हड्डी तोड ज्वरो’ पनि भन्ने गरिन्छ। प्रायः डेंगीका गम्भीर बिरामीले योभन्दा दर्दनाक अर्को संक्रमण नभएको अनुभव सुनाउँछन्।
चलनचल्तीको भाषामा डेंगी, डेंगु वा डेंगे भनिने भाइरस संक्रमणले अहिले समुदायमा आतंक मच्चाएको छ। कोरोना महामारीका कारण थलिएर तंग्रिँदै गरेको नेपाली समाजलाई डेंगी संक्रमणले फेरि आक्रान्त पारेको छ। अधिकांश नेपालीका लागि यो रोग नौलो भए पनि विगतका वर्षहरूमा तराईका केही सीमित क्षेत्रमा यसको संक्रमण सालिन्दा बढ्दै थियो। पहाडी जिल्लाहरूमा भने डेंगी फाट्टफुट्ट देखिने गरेको थियो। यो वर्ष भने संघीय राजधानी काठमाडौँमा समेत डेंगी संक्रमण व्यापक रूपमा फैलिएको छ। योसँगै मोफसलका जिल्लाहरूमा पनि संक्रमितको संख्या बढ्दो छ।
संसारका उष्ण र समशीतोष्ण जलवायु भएका क्षेत्रमै अधिकांश मान्छेको बस्ती छ। र, सोही हावापानी यो रोग फैलाउने लामखुट्टेको पायक बासस्थान हो। छिमेकी मुलुक भारतलगायत केही मुलुकमा विगत वर्षमा उल्लेख्य संक्रमण थपिँदै गएको सन्दर्भमा डेंगी भाइरस नेपालको स्वास्थ्य प्रणालीको निमित्त पनि ठुलो चुनौती बनेर देखा पर्दैछ।
के हो डेंगी?
डेंगी भाइरसको संक्रमणले डेंगी रोग हुने गर्छ। सरुवा रोग भए पनि यो भाइरस एक व्यक्तिबाट अर्कोमा सोझै सर्न सक्दैन। एक व्यक्तिबाट अर्को व्यक्तिसम्म भाइरस पुर्याउने काम भने लामखुट्टेले गर्छ। संक्रमण भएका व्यक्तिलाई एडेस प्रजातिको लामखुट्टेले टोक्दा सो लामखुट्टे पनि डेंगीबाट संक्रमित हुन जान्छ। र, त्यस संक्रमित लामखुट्टेले असंक्रमित व्यक्तिलाई टोक्दा डेंगी भाइरस सर्छ। यसरी एकबाट अर्को व्यक्तिमा संक्रमण पुर्याउन, माध्यमका रूपमा लामखुट्टे अनिवार्य भएको हुँदा संक्रमण फैलिन रोक्न मुख्यतः लामखुट्टे निर्मूल पार्नु अनिवार्य हुन्छ। डेंगी भाइरस चार प्रकारका छन्। एक प्रकारको डेंगीबाट संक्रमित व्यक्तिले पछि त्यस प्रकारको डेंगीविरुद्ध प्रतिरोध क्षमता विकास गर्न सके पनि बाँकी अन्य प्रजातिबाट भने फेरि संक्रमित हुने सम्भावना रहन्छ।
लक्षण र झुक्क्याउने लक्षण
डेंगी संक्रमितमध्ये लगभग एक चौथाइ व्यक्तिमा कुनै लक्षण नै नदेखिने वा अति सामान्य लक्षण देखिने हुन्छ। संक्रमण सुरु भएको दुई चार दिन वा त्यसपछि अरू भाइरसको संक्रमणमा जस्तै सामान्य ज्वरो आउने, जिउ दुख्ने र कमजोरी हुनेलगायत लक्षण प्रारम्भिक चरणमा देखिन्छन्। साधारण लक्षण देखिएका संक्रमितहरू लक्षण हराएको केही दिनभित्र नै पूर्ण रूपमा स्वस्थ हुन्छन्। तर साधारण लक्षण देखिने व्यक्तिमध्ये पनि ५ प्रतिशत जति संक्रमितमा भने पछि गम्भीर लक्षण देखिन थाल्छन्। उच्च ज्वरो आउने, असाध्यै जिउ दुख्ने, आँखा दुख्ने, जिउमा राता धब्बाहरू देखिने, पेट दुख्ने तथा उल्टी हुनेलगायत लक्षण यसका गम्भीर लक्षण हुन्। जोर्नी र हाडमा असाध्य पीडा हुने हुँदा यो संक्रमणलाई ‘हड्डी तोड ज्वरो’ पनि भन्ने गरिन्छ। अक्सर गम्भीर डेंगीका बिरामीले योभन्दा दर्दनाक अर्को संक्रमण नभएको सुनाउने गर्छन्।
डेंगी संक्रमण सँगसँगै संक्रमितको प्लेटलेट्स संख्या र प्रतिरोध क्षमतासँग प्रत्यक्ष सरोकार राख्ने श्वेत कोषिकाको संख्या घट्छ। केही संक्रमितमा भने आन्तरिक रक्तस्राव हुन गई दिशा पिसाबमा रगत देखिने, नाक–मुखमा रक्तस्राव हुने लगायतका लक्षण देखिन गई व्यक्तिको मृत्युसम्म हुन जान्छ। सम्पूर्ण संक्रमितको अनुपातमा यो रोगको मृत्युदर १ प्रतिशतभन्दा कम नै भए पनि सघन उपचार गर्न पर्ने गम्भीर लक्षणका बिरामी र संक्रमणको व्यापक फैलावटले गर्दा यो संक्रमणको प्रभाव भने उच्च छ।
डेंगीको उपचारका लागि कुनै ठोस औषधी छैन। ज्वरो घटाउने, दुखाई कम गर्ने, जल वियोजन(शरीरमा पानीको कमी) घटाउने उपायहरू नै संक्रमितका सहारा हुन्। संक्रमणको डर बढ्दै जाँदा गम्भीर रोगका बिरामीको संख्या बढ्दै जाने र यसले पुनः हाम्रो स्वास्थ्य सेवा प्रणालीलाई चुनौती दिने छ। त्यसका साथै मृतकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ।
यो रोगको अर्को विशेषता भनेको झुक्क्याउने प्रकारका लक्षणहरू विकास हुनु पनि हो। संक्रमणपश्चात् ज्वरो हटेर निको भएको हो कि जस्तो लाग्ने व्यक्तिको स्वास्थ्य स्थितिको बारेमा भने आफन्तहरू र व्यक्ति स्वयं चनाखो हुनु जरुरी छ। कतिपय व्यक्तिमा गम्भीर लक्षण सुरु हुनु अघि ज्वरो घट्ने र निको भएको महसुस हुने समेत देखिएको छ। त्यस्ता व्यक्तिमा ज्वरो घटेपश्चात् छोटो समयमा नै पुनः साधारण लक्षणबाट गम्भीर लक्षणहरू विकसित हुन्छ। अर्थात् ज्वरो घटेको खण्डमा पनि अर्को २४–४८ घण्टासम्ममा गम्भीर डेंगी हुन सक्छ भन्नेतर्फ चनाखो हुन जरुरी छ।
जोखिम र प्रकार
डेंगीका बारेमा अधिकांशले थाहा नपाएको हुँदा र भविष्यको निम्ति चुनौती बनेर देखा पर्ने स्थितिको निम्ति भने राष्ट्रिय स्तरमै तयारी गर्न आवश्यक छ। डेंगी ४ सेरोटाइप (प्रजाति) का छन्। त्यसमध्ये कुनै पनि प्रकारले संक्रमण भएमा डेंगी हुन सक्छ। व्यक्तिमा जुन प्रकारको डेंगी लागेको हो, त्यही प्रकारको डेंगीविरुद्ध मात्रै पछि एन्टीबडी बनाउँछ र प्रतिरोध क्षमता विकास गर्छ। डेंगी भाइरसमा कुनै एक सेरोटाइप (प्रकार)को विरुद्ध बनेका एन्टीबडीले अर्को सेरोटाइपलाई संक्रमण गर्न थप सहयोग गर्ने पाइएको छ।यसलाई एन्टीबडी आधारित उच्च–संक्रमण भनिन्छ। अर्थात् कुनै पनि प्रजातिले संक्रमित व्यक्तिलाई अर्को प्रजातिको डेंगीले संक्रमण गरेको खण्डमा गम्भीर रोग विकास हुने र मृत्यु हुने सम्भावना अत्यधिक बढेर जान्छ। अहिले अधिकांश संक्रमितमा खासै गम्भीर लक्षण देखिएको छैन भनेर वा मृत्युदर कम देखिएको छ भनेर डेंगीलाई बेवास्ता गर्नु हुँदैन। भविष्यमा कुनै पनि समयमा अर्को प्रकारको डेंगी फैलिएको खण्डमा भने अहिले संक्रमण भएर निको भएका व्यक्तिहरूमा थप जोखिम बढ्छ।
जोखिम कम गर्न के गर्न सकिन्छ?
डेंगी अरू सरुवा रोगजस्तो व्यक्तिबाट व्यक्तिमा नसर्ने हुँदा संक्रमितको सम्पर्क वा यात्राले मात्र यो फैलँदैन। यसका लागि खास प्रजातिको लामखुट्टेले टोकेको हुनुपर्छ। यो भाइरस फैलाउने लामखुट्टे रैथाने नभएको हुँदा अझै पनि भौगोलिक रूपमा नेपालका सम्पूर्ण भूभागमा फैलिएको छैन। तर पनि यातायातका साधनका मध्यमबाट यो लामखुट्टे सीमित पहाडी र हिमाली भेगसम्म पुगिसकेको छ। तसर्थ, थप क्षेत्रमा डेंगी नफैलियोस् भन्नका लागि लामखुट्टे नियन्त्रण गर्नु अनिवार्य छ। स्थानीय रूपमा कुनै ठाउँमा पानी जम्न नदिने, लामखुट्टे फैलिने स्थिति नहुने व्यवस्था मिलाउने, किटनाशक र किट विकर्षक प्रयोग गरेर लामखुट्टे नियन्त्रण गर्नु नै प्रभावकारी उपाय हो। विशेष गरी लामो दूरीका र धेरै संक्रमितहरू यात्रा गर्ने सवारी साधनको उद्गम र गन्तव्य दुवै स्थानमा लामखुट्टे नियन्त्रणका विधिहरू अपनाउन अपरिहार्य छ।
सरकारी स्तरमै विभिन्न क्षेत्रमा लामखुट्टे र संक्रमित व्यक्ति दुवैको मिहिन अध्ययन गरी संक्रमणको प्रकार र भौगोलिक वितरण निर्क्योल गर्नु आवश्यक छ। माथि उल्लेख गरिएजस्तै दोस्रो वा तेस्रो प्रकारको डेंगी फैलिएको खण्डमा ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ। चुस्त निगरानी गर्दा मात्रै अन्य प्रजाति देखिनासाथ त्यसको नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकिन्छ। हालै मात्र सीमित उमेर समूहका लागि डेंगीविरुद्ध खोप विकाश गरिएको छ र खोपको पूर्ण प्रभावकारिता भने अध्ययनकै क्रममा छ। तर यो खोप पहिले एक पटक संक्रमित भएकालाई मात्र लगाउन मिल्छ। यदि पहिले संक्रमण नै नभएको व्यक्तिलाई खोप दिइएको खण्डमा त्यसले कालान्तरमा संक्रमण हुने मात्र नभई गम्भीर रोग विकाश हुने सम्भावना बढेर जान्छ। त्यसैले यो खोप उपलब्ध भएको खण्डमा पनि खोप लगाउने व्यक्ति पहिले डेंगुबाट संक्रमित हो कि होइन भनेर निर्क्योल गर्नु पर्ने चुनौती छ।
डेंगी भाइरसबारे विद्यावारिधि गरेका डा. खड्का अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयमा वैज्ञानिकका रूपमा कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
