संगठित अपराध, हत्या, हिंसालगायत विभिन्न आपराधिक कार्यमा संलग्न एफबीआईको मोस्ट वान्टेट सूचीको मुख्य १० जना फरार अभियुक्तमध्ये वानक्वाइनकी इग्नातोभा पनि एक हुन्।
सन् २०१६ मा बेलायतको लन्डनस्थित वेम्ब्ली एरेनामा आयोजित भव्य कार्यक्रममा एकजना महिला गाउनमा चिटिक्क सजिएर स्टेटमा आइन्, चारैतर्फ झिलिमिली बत्तीको प्रकाशसँगै मञ्चमा गुञ्जिएको थियो गायिका एलिसिया किजको गीत ‘गल अन फायर’।
महिलाको भेषमा उनी आगोको झिल्का हुन्। आँखा जलाउन सक्छिन्, अर्कैतिर हेर...! गीतका हरफले ती महिलालाई नै इंगित गरेजस्तो लाग्थ्यो। उनी थिइन्, क्रिप्टो जगतमा कुख्यात रूजा इग्नातोभा।
सन् २०१६ को जुन महिना थियो त्यो। जतिबेला व्यापारमा क्रिप्टोकरेन्सी शब्दको चर्चा भर्खर शुरू भएको थियो र क्रिप्टोमा लगानी गर्न अधिकांश लगानीकर्ता उत्साहित थिए।
त्यतिबेला नै इग्नातोभाले आफूलाई ‘क्रिप्टोक्वीन’का रूपमा चिनाउँदै आफ्नो कम्पनी वानक्वाइनबारे जानकारी दिएकी थिइन्। तीव्र रूपमा बढिरहेको क्रिप्टोकरेन्सी बजारमा वानक्वाइन, बिटक्वाइनको प्रतिस्पर्धीका रूपमा उत्रिएको थियो।
सो समारोहमा इग्नातोभाले 'अबको दुई वर्षमा सबैले बिटक्वाइनको नाम बिसर्नेछन्' भन्दै भाषण गरेकी थिइन्। तर गफ दिएको १६ महिनामै इग्नातोभा एकाएक गायब भइन्। बुल्गेरियाको राजधानी सोफियाबाट विमान चढेर निस्किएकी उनी त्यसयता देखा परिनन्।
अमेरिकी केन्द्रीय जाँच ब्युरो एफबीआईका अधिकारीहरूले ‘वानक्वाइन’लाई एक ‘पिरामिड स्किम’ का रूपमा व्याख्या गरेका छन्। जसबाट इग्नातोभाले अमेरिकासहित विश्वभरका लगानीकर्तालाई आफ्नो कम्पनीमा नगद लगानी प्रेरित गर्दै सो पैसा ठगेर भागिन्। एफबीआईले ‘वानक्वाइन’ लाई अहिलेसम्मकै ठूला अन्तर्राष्ट्रिय ठगीहरूमध्ये एक भनेको छ।
संगठित अपराध, हत्या, हिंसालगायत विभिन्न आपराधिक कार्यमा संलग्न एफबीआईको मोस्ट वान्टेट सूचीको मुख्य १० जना फरार अभियुक्तमध्ये वानक्वाइनकी इग्नातोभा पनि एक हुन्। सो सूचीमा हालसम्म उनीमात्रै एक महिला अभियुक्त हुन्। सन् १९५० पछि एफबीआईको सूचीका ५२९ जना फरार अभियुक्तमध्ये ११ जना महिला छन्।
अमेरिकी महान्यायाधिवक्ता डेमियन विलियमले गत महिना एक विज्ञप्तिमार्फत भनेका थिए, “इग्नातोभा र उनका साथीले बिटक्वाइनलाई पछि पार्ने भन्दै सोझा लगानीकर्ताहरूको अर्बौं डलर ठगी गरे। तर वास्तवमा वानक्वाइन बेकारको थियो। दुःखले पैसा कमाएका विश्वभरका मानिसको पैसा लुट्नकै लागि बनाएको झुटको डिजाइन मात्र थियो त्यो।”
इग्नातोभाले शुरूदेखि राखेकी थिइन् ठगीको उद्देश्य
सन् २०१७ को अक्टोबरदेखि गायब भएकी इग्नातोभाको तस्वीर एफबीआईका वेभसाइटभरि र विश्वभरका प्रमुख समाचारपत्रमा छाइसकेका छन्। साथै, उनी युरोपमा पनि ‘मोस्ट वान्टेट’ फरार व्यक्ति हुन्।
एफबीआईको ‘मोस्ट वान्टेट’ पोस्टरको नोटमा भनिएको छ, “इग्नातोभा सशस्त्र व्यक्तिहरूको सुरक्षा र संरक्षणमा भ्रमण गरिरहेकी छन्। उनले आफ्नो अनुहार प्लास्टिक सर्जरी गरेको वा कुनै प्रकारले नचिनिने बनाएको हुनसक्छ।”
आपराधिक पृष्ठभूमि र यसको गहिराइ र जोखिमको आधारमा एफबीआईले फरारहरूको सूची छान्ने गरेको छ। तर एफबीआईले अमेरिकी न्याय विभागको अदालती दस्ताबेजभन्दा बाहेक अन्य विवरण र तथ्यांक सार्वजनिक गरेको छैन।
एफबीआईका प्रवक्ता डेनियल क्रिफोले भनेका थिए, “हाल यो मुद्दामाथि अनुसन्धान भइरहेको छ। जे कुरा सार्वजनिक भएको छ त्यसबाहेकका सूचना दिन हामी असमर्थ छौँ।” तर अदालतका कागजातहरूमा इग्नातोभाबारे विस्तृतमा वर्णन गरिएको छ। इग्नातोभा र ‘वानक्वाइन’का सहसंस्थापक कार्ल सेवास्टियन ग्रीनउड आफ्नो महत्वाकांक्षी योजना र ठगीबारे शुरूदेखि कसरी सचेत थिए भन्ने कुरा ती कागजातमा रहेको सीएनएनको दाबी छ।

आईआरएसका विशेष गुप्तचर जोन आर टफरले विज्ञप्तिमा भनेका छन्, “क्रिप्टोकरेन्सी वानक्वाइन लगानीकर्तालाई ठग्ने एक मात्र उद्देश्यले शुरू गरिएको थियो।” ग्रीनउड र इग्नातोभाले वानक्वाइनको अवधारणामा काम गर्ने क्रममा इमेलमा यसलाई ‘ट्रासी क्वाइन’ भनेर चिन्ने गरेको संघीय अधिकारीहरूले अदालतका कागजातमा उल्लेख गरेका छन्।
साथै, ग्रीनउडले इग्नातोभाको भाई कोन्स्तान्तीन इग्नातोभालाई पठाएको इमेलमा लगानीकर्ताहरूलाई ‘मूर्ख’ र ‘पागल’ भन्ने गरेको बताइएको छ। उनी पनि यस 'पोन्जी स्क्याम’मा संलग्न थिए।
इग्नातोभा सानैदेखि धनी बन्न चाहन्थिन्
४२ वर्षीय रूजा इग्नातोभा बुल्गेरियामा जन्मिएकी जर्मन नागरिक तथा इन्जिनियर बुबा र शिक्षिका आमाकी सन्तान हुन्। लेखक जेमी बार्टलेटले उनको किताब ‘द मिसिङ क्रिप्टो क्वीन’ मा उनको उद्यमी जीवनको सामान्य शुरूआतबारे विस्तृतमा लेखेका छन्।
पुस्तकमा बताइएअनुसार इग्नातोभा सानो हुँदा उनको परिवार जर्मनी गएको थियो। जर्मनीका विद्यालयमा पढ्दा उनी पढ्ने तर साथीभाइसँग घुलमिल नहुने खालकी विद्यार्थी रहेको उनका सहपाठीको भनाइ छ।
जर्मनीको कोन्स्ताज विश्वविद्यालयमा छात्रवृत्तिमा पढेकी उनले कानूनका विद्यार्थीसँग विवाह गरेकी थिइन्। तर, सम्पत्ति कमाउने योजनामा बाधा नपुगोस् भनेर इग्नातोभाले बच्चा नजन्माएको कुरा पनि बार्टलेटले पुस्तकमा लेखेका छन्।
इग्नातोभाले आफू ३० वर्षको हुँदासम्म करोडपति बन्ने कुरा आफ्ना साथीभाईलाई भन्ने गरेको र पैसा कमाउने उनको तीव्र लालसाका विषयमा पुस्तकमा वर्णन गरिएको छ। अक्सफोर्ड विश्वविद्यालयमा युरोपेली कानून पढिसकेपछि उनले म्याकिन्से एन्ड कम्पनीमा परामर्शदाताका रूपमा काम गरेकी थिइन्। त्यहाँ उनले प्रगति गर्ने र धनी बन्ने तीव्र इच्छालाई ग्राहकहरूले पनि विश्वास गरेको तथा विभिन्न भाषाको ज्ञानले उनलाई थप सहयोग गरेको पुस्तकमा उल्लेख छ। उनी रुसी, जर्मन, अंग्रेजी र बुल्गेरियन भाषा बोल्न सक्छिन्।
यसका साथै उनी विभिन्न कार्यक्रममा सहभागी हुँदा आफ्नो पहिरन तथा गरगहनामा पनि विशेष ध्यान दिन्थिन्। उनले गाउन र हीराका आकर्षक गहना लगाउँथिन्।

लगानीको पाँचदेखि दश गुणासम्म फिर्ता दिने आश्वासन
बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी विश्वव्यापी रूपमै व्यवस्थित गरिने, व्यावसायिक क्रिप्टो माइनरको सहयोगमा व्यवस्थित हुने डिजिटल सम्पत्ति हुन्। यद्यपि, अधिकांश रूपमा नियमन नहुने हुँदा निकै जोखिमपूर्ण भएकाले क्रिप्टोकरेन्सीलाई आलोचकले ठगीधन्दा समेत भन्ने गरेका छन्।
त्यसमाथि वानक्वाइन त झन् माइनरहरूले व्यवस्थित गरेको क्रिप्टो थिएन। त्यसैले, ‘वानक्वाइन’को मूल्य बजारको माग र आपूर्तिको आधारमा नभई एकल हेरफेरमा आधारित हुन्थ्यो। सन् २०१४ मा इग्नातोभा र ग्रीनउडले युरोप, अमेरिकासहित विश्वभर वानक्वाइनबारे जानकारी दिएका थिए। उनीहरूले अनलाइनमार्फत् विभिन्न सम्मेलन गरी सम्भावित लगानीकर्तालाई यसको प्याकेज किन्न मिल्ने खातामा रकम जम्मा गर्न आग्रह गर्थे।
बहुस्तरीय व्यापार नेटवर्क सञ्चालन गरेको वानक्वाइनले लगानीकर्तामार्फत क्रिप्टोकरेन्सी प्याकेज खरिद गर्ने अन्य लगानीकर्ता भित्र्याएमा कमिसन दिन्थ्यो। ती प्याकेजमा ‘स्टाटर’ र ‘टाइकुन ट्रेडर’ जस्ता विभिन्न आम्दानीका तह बनाइएको थियो।
इग्नातोभा र उनका साथीले लगानीकर्तालाई लगानीको पाँचदेखि दश गुणासम्म प्रतिफल दिने प्रतिबद्धता गरेको अदालती कागजातमा उल्लेख छ।
सन् २०१४ को चौथौ त्रैमासिकदेखि खरिदको सिलसिला शुरू भएपछि सन् २०१६ को सोही अवधिसम्म लगानीकर्ताले वानक्वाइनमा ४ अर्ब अमेरिकी डलर लगानी गरिसकेका थिए। जसमध्ये ५० करोड डलर लगानी अमेरिकाबाट आएको थियो।
फरार इग्नातोभाबारे सूचना दिनेलाई १ लाख डलर
सन् २०१६ को अन्त्यतिर लगानीकर्ताले जब आफ्नो वानक्वाइन बेच्न पाएनन् र वास्तविक लगानीकर्तासँग सम्पर्क गर्न थाले तब यो व्यापार ठगी हो भन्ने खुल्यो। मिडियामा प्रश्न उठेपछि विश्वभरका विभिन्न अनुसन्धान एजेन्सी र अमेरिकी संघीय अनुसन्धानकर्ता समेत संलग्न भए।
अहिले इग्नातोभबारे कसैलाई अत्तोपत्तो छैन। सन् २०१७ को अक्टोबरमा अमेरिकी न्याय विभागले इग्नातोभामाथि विद्युतीय ठगी र ठगीको षडयन्त्र, धितोपत्र जालसाजी, मनी लन्डरिङको षड्यन्त्र गरेको लगायत आरोप लगाएको थियो। उनीमाथि लागेका अधिकांश आरोपमा अधिकतम् २० वर्षसम्मको सजाय हुनसक्छ। त्यसपछि संघीय अदालतले उनीविरुद्ध पक्राउपूर्जी जारी गरेको थियो।
तर त्यसको दुई साता नबित्दै सन् २०१७ अक्टोबर २५ मा उनी बुल्गेरियाको सोफियाबाट व्यावसायिक उडानमा ग्रिसको एथेन्स गएर गायब भएको अदालतको कागजातमा उल्लेख छ।
धराशायी कम्पनी, लगानीकर्ताको आक्रोश र सबै कुराको अपजस आफ्ना व्यापार साझेदारको टाउकोमा थुपारेर उनी एकाएक गायब बनिन्। अहिले उनी कहाँ छिन् कसैलाई थाहा छैन।
त्यसपछि जर्मनीको पासपोर्ट लिएर उनी युनाइटेड अरब इमिरेट्स, जर्मनी, रूस, पूर्वी युरोप गएको र पुनः बुल्गेरियामै फर्किएको हुनसक्ने एफबीआईको अनुमान छ। साथै, उनीबारे सूचना दिने व्यक्तिलाई १ लाख डलरको पुरस्कारको घोषणा समेत अमेरिकाले गरेको छ।
न्युयोर्कस्थित एफबीआईका सहायक निर्देशक माइकल ड्रिस्कोल भन्छन्, “उनी ठूलो रकम लिएर भागेकी छन्। पैसाले धेरैलाई किन्न सकिन्छ। उनले त्यसैको फाइदा उठाएको हुनसक्छ।”
उनका साथी ग्रीनउड सन् २०१८ मा थाइल्याण्डको को सामुईबाट पक्राउ परेका थिए। उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो। हाल उनी जेलमा छन्। विद्युतीय ठगी, षड्यन्त्र र मनी लन्डरिङमासहित विभिन्न आरोप लागेका उनले कूल २० वर्षको जेल सजाय पाएका छन्।
यस्तै, इग्नातोभाका भाई कोन्स्तान्तीन इग्नातोभा पनि सन् २०१९ मा लस एन्जलस विमानस्थलबाट पक्राउ परेका थिए। उनीमाथि पनि विद्युतीय ठगी, षड्यन्त्र र मनी लन्डरिङको आरोपमा मुद्दा चलिरहेको छ।

हाल वानक्वाइनको कार्यालय बन्द छ भने यसको वेबसाइट पनि सक्रिय छैन। तर, यसकी संस्थापक एफबीआईको नजरमा परेकी छैनन्। गायब भएको पाँच वर्षसम्म पनि उनको ठेगाना रहस्यमै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
