फ्रेन्च कपमा पीएसजीद्वारा डी कासेल पराजित, एमबाप्पेको ५ गोल

एमबाप्पे पीएसजीका लागि एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

तस्वीर: पीएसजी

काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्री क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोमबार राति पाएस डी कासेललाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पीएसजी प्री क्वार्टरफाइनलमा पुगेको हो। पीएसजीका लागि केलियन एमबाप्पे एक्लैले ५ गोल गरे।

उनले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए। एमबाप्पेले खेलको २९ औँ, ३४ औँ, ४० औँ, ५६ औँ र ७९ औँ मिनेटमा गोल गरे। लियोनल मेसीलाई विश्राम दिइएको खेलमा नेयमारले ३३ औँ र कार्लोस सोलेरले ६४औँ मिनेटमा पीएसजीका लागि गोल गरेका थिए।

एमबाप्पेले यस सिजन सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन्। यस्तै एमबाप्पे पीएसजीका लागि एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। पीएसजीले अब मार्सेसँग खेल्ने छ।