पाल्पा रामपुरका महिला कृषि समूहमा आबद्ध छन्। समूहले प्रेरित गरेपछि तरकारी तरकारी खेती गर्नेको संख्या बढ्दो छ।
पाल्पा– घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन्।
घरको कामधन्दा सकाएर दिउँसो करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन्। तरकारी खेतीमा संलग्न महिलाको दैनिकी नै बदलिएको छ। बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा दिनचर्या बित्ने गरेको छ। पाल्पा रामपुरकी सीता देवकोटाको घर वरिपरि तरकारी खेती छ।
कोही उत्पादन दिँदै छन् त कुनै उत्पादन दिने क्रममा छन्। अहिले उनी दिनहुँ काउली र बन्दा बिक्री गर्न बजार पुग्छिन्। बन्दा प्रतिकिलो ३०, काउली ६० रुपैयाँमा बिक्री भइरहेको उनले बताइन्। “तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिकजसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ”, उनले भनिन्, “घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन।” घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने देवकोटाले दशकयता भने व्यावसायिक तवरले खेती गरिरहेको बताइन्। आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा आनन्दको अनुभूति हुने उनको अनुभव छ।
“अरूको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हुँदो रहेछ, श्रीमान्सँग हुँदा त पैसा पाइन्थ्यो। नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो”, देवकोटा भन्छिन्, “अहिले तरकारी फलेपछि आफ्नो खर्चका लागि अरूको निर्भर रहनु परेन।” मेहनत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पुर्याउँदा व्यवसायमा उत्साह थपिँदै गएको छ। तरकारी बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख आम्दानी हुने उनले सुनाइन्।
खाली जग्गामा तरकारी फल्न थालेपछि किनेर खानु नपरेको कुन्तादेवी गैरेले बताइन्। चार रोपनी जग्गामा समयानुसार विभिन्न जातका तरकारी लगाउने उनको भनाइ छ। “पहिला किनेर तरकारीको जोहो हुन्थ्यो। अहिले ताजा तरकारी खान पाइएको छ। बिक्रीबाट आम्दानी पनि भइरहेको छ”, उनले भनिन्।
यहाँका महिला नदी किनार आयआर्जन महिला कृषि समूहमा आबद्ध छन्। समूहले महिलालाई तरकारी खेतीमा लाग्न प्रेरित गरेपछि व्यावसायिक तवरले तरकारी लगाउन थालेका हुन्। समूहमा आबद्ध भएपछि तरकारी खेती बढाएको राधा खनालले बताइन्। उनलाई दुई वर्षयता तरकारी किनेर खानुपर्ने बाध्यता टरेको छ। उनले तीन रोपनी जग्गामा मौसमअनुसारका विभिन्न तरकारी लगाएकी छन्। सिँचाइ सुविधा, नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउ बिजनको सुविधाले तरकारी खेती गर्न किसानलाई सजिलो छ।
खेतबारीमा तरकारी लगाउन थालेपछि पैसा बचतमात्रै नभई स्वस्थ ताजा तरकारी सेवनले स्वास्थ्यलाई फाइदा गरेको सावित्रा गैरेको अनुभव छ। “बजारबाट किनेर खाएको तरकारीमा स्वाद नहुने, बासी तरकारी, विषादीको अधिक मात्रा प्रयोगले स्वास्थ्यलाई हानी गर्ने भएकाले आफ्नै बारीमा तरकारी फलाएर खादा स्वास्थ्यलाई हित गरेको छ”, उनले भनिन्।
रामपुर नगरपालिकाले तरकारी खेतीलाई प्रवर्द्धन गर्दै समूह, सहकारीमार्फत बीउ बिजन, स्थलगत प्राविधिक सेवा, अभिमुखीकरण कार्यक्रम, तरकारी बाली पकेट विकास कार्यक्रम, कृषि प्रविधिमा ५० प्रतिशत अनुदानजस्ता कार्यक्रममा जोड दिएको छ। कृषकले तरकारी खेतीलाई विस्तार गरिरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताए।
पुरुषको तुलनामा तरकारी खेतीमा महिलाको संलग्नता धेरै छ। घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै महिलाले तरकारी व्यवसायलाई अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
