पछिल्ला ८ खेलमा जितविहीन रहेको एभर्टन अंक तालिकाको १९औँ स्थानमा छ। एभर्टनले २० खेलमा ३ जित, ६ बराबरी र ११ हार बेहोरेको छ।
काठमाडौँ– इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई सोमबार बर्खास्त गरेको छ। लगातार हार बेहोरिरहेको एभर्टनले उनलाई १२ महिनामै बर्खास्त गरेको हो।
लाम्पार्डले गत सिजन प्रिमियर लिगमा एभर्टनलाई रेलिगेसनबाट जोगाएका थिए। कठिन शुरूआतका बाबजुद रेलिगेसन जोनभन्दा ४ अंकले माथि रहेको क्लबलाई उनले १६औँ स्थानमा पुर्याएर प्रिमियर लिगमा टिकाइराखे। गत सिजन एभर्टनले ३८ खेलमा ११ जित, ६ बराबरी र २१ हार बेहोरेको थियो।
एभर्टनले यस सिजनको शुरूआतमा सकारात्मक खेल प्रदर्शन गरेको थियो। शुरूका ६ खेलमा अपराजित रहँदै दुई खेल कम अन्तरले हारेको थियो। लिगमा आफूलाई बचाइराख्न एभर्टनले अनुभवी जेम्स टार्कोवस्की, कोनोर कोडी र इड्रिसा गाना गुइएसँगै लिलेबाट अमाडो ओनानालाई भित्र्याएर बलियो टोली बनाएको थियो। तर, उनीहरूले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेनन्।
पछिल्ला ८ खेलमा जितविहीन रहेको एभर्टन अंक तालिकाको १९औँ स्थानमा छ। एभर्टनले २० खेलमा ३ जित, ६ बराबरी र ११ हार बेहोरेको छ। एभर्टनभन्दा तल रहेको साउथह्याम्टनको पनि समान १५ अंक छ। एभर्टनमा लाम्पार्डको उपस्थिति बलियो देखिएको थिएन। उनको नेतृत्वमा एर्टनले ९ खेल मात्रै जितेको थियो। चेल्सी र इंग्ल्यान्ड लिजेन्ड लाम्पार्डअघि कार्लो एन्सेलोटी, राफेल बेनिटेज र डन्कन फर्ग्युसनले एभर्टनमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
लाम्पार्डले सन् २०१८ मा डर्बी काउन्टीबाट आफ्नो प्रशिक्षण करियर शुरू गरेका थिए। एक सिजन डर्बीमा बिताएका उनले ५७ खेलमा २४ जित, १७ बराबरी र १६ हारको नतिजा दिलाए। जुलाई २०१९ मा मौरिसियो सारीलाई बर्खास्त गरेपछि चेल्सीले उनलाई भित्र्याएको थियो। तर, चेल्सीमा पनि उनको बसाइँ १८ महिनाभन्दा अगाडि बढ्न सकेन। लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ८४ खेलमा ४४ जित, १७ बराबरी र २३ हार बेहोरेको थियो।
भित्रिएको पहिलो सिजन उनको प्रशिक्षणमा चेल्सीले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो। तर, अर्को सिजन चेल्सीको प्रदर्शन बिर्सनलायक बन्यो। सोही कारण क्लबले उनलाई बर्खास्त गर्यो। उनी बर्खास्तमा पर्नुअघि चेल्सी २९ अंक जोडेर लिगको नवौँ स्थानमा थियो। खेलाडीकारूपमा लाम्पार्डले चेल्सीमा १३ वर्ष बिताउँदा ११ मुख्य उपाधि जितेका थिए। उनले चेल्सीबाट सन् २००१ देखि २०१४ को सिजनसम्म ६४८ खेलमा २११ गोल गरेका थिए। प्रशिक्षककारूपमा भने उपाधिविहीन बने।
लाम्पार्डलाई गत वर्ष जनवरी ३१ मा एभर्टनले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनले राफेल बेनिटेजको स्थान लिएका थिए। गत सिजन एभर्टनलाई रेलिगेसनबाट जोगाएपछि टोलीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको थियो। तर, क्लबले मुख्य ब्राजिलियन स्ट्राइकर रिचार्लिसनलाई बेचेदेखि लाम्पार्डको अगाडिको यात्रा झनै कठिनाइ बन्यो। एभर्टनले यो सिजन २० मध्ये ३ खेलमा मात्रै जित हात पार्न सक्यो। शनिबार भएको खेलमा पनि एभर्टन अंक तालिकाको पुछारमा रहेको वेस्ट ह्यामसँग २–० ले पराजित भयो।
जितसँगै वेस्ट ह्याम एभर्टनलाई उछिनेर १६औँ स्थानमा पुगेको छ। एभर्टन रेलिगेसनमा पर्ने खतरा बढेको छ। प्रिमियर लिगमा १८, १९ र २०औँ स्थानमा रहने टोलीले अर्को सिजन खेल्ने छैनन्। ती क्लबले दोस्रो स्तरको च्याम्पियनसिप खेल्छन्। त्यसपछि फेरि प्रिमियर लिगमा बढुवा हुन शीर्ष स्थानमा अटाउन पर्नेछ। सन् १८८७ मा गठन भएको एभर्टन सन् १९२९/३० र १९५०/५१ सिजनमा मात्र रेलिगेसनमा परेको थियो।
एभर्टनले अब शीर्ष स्थानमा रहेको आर्सनलसँग फेब्रुअरी ४ मा खेल्ने छ। त्यसपछि चिर प्रतिद्वन्द्वी लिभरपुलसँग खेल्नेछ। एभर्टनले त्यसअघि नयाँ प्रशिक्षक खोज्ने जनाएको छ। “हामी फ्रान्क र उनको ब्याकरुम टोलीलाई भविष्यको लागि शुभकामना दिन्छौँ। क्लबले नयाँ प्रशिक्षको खोजी जारी राखेको छ। पल टेट र लेइटन बेन्सले मुख्य प्रशिक्षक नियुक्त नभएसम्म प्रशिक्षण दिनेछन्”, क्लबले विज्ञप्तिमा भनेको छ।
लाम्पार्डसँगै जो एडवर्ड्स, पल क्लेमेन्ट, एश्ले कोल र क्रिस जोन्सले पनि क्लब छाडेका छन्। एलन केली एभर्टनको गोलकिपिङ प्रशिक्षक रहनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
