लाल सलाम पनि हामी हौँ, जय नेपाल पनि हामी हौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनविरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनविरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने बताए।राजावादी आफूहरूलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै उनले आफूहरू राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गरे। 

"राजावादीले निकै राष्ट्रवादी हुँ भन्न थालिसके। हद हुन्छ नि! राजावादी भएर राष्ट्रवादी हुने कुरा होइन। राष्ट्रवादी पनि हामी हौँ। प्रजातन्त्रवादी पनि हामी हौँ। समाजवादी पनि हामी हौँ। लाल सलाम पनि हामी हौँ। जय नेपाल पनि हामी हौँ," उनले भने, "यो गठबन्धनलाई कुनै पनि बहानामा एकअर्का पार्टीकाप्रति शंका, उपशंका गर्ने काम नगरौँ।"

प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध कुनै पनि भ्रममा नपर्न नेता-कार्यकर्तालाई आग्रह गरे। उनले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे। 

माओवादी केन्द्र, समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूलाई सम्मान गरेर प्रधानमन्त्री बनाएको भन्दै गठबन्धन बलियो बनाउनु र बचाउनु कांग्रेसको कर्तव्य हुने उनको भनाइ छ। समावेशिता, संविधान र गणतन्त्र बचाउन अझै केही वर्ष गठबन्धन आवश्यक रहेको उनले बताए।