म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि ग्रामीण क्षेत्रका बासिन्दा अफिम खेतीमा फर्किएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
म्यानमारमा लागुऔषध अफिमको उत्पादन तीव्र रूपले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ। सात वर्षसम्म घटेको अफिम उत्पादन हाल तीव्र रूपले बढिरहेको पाइएको हो। सन् २०२१ मा ४२३ मेट्रिक टन अफिम उत्पादन भएको म्यानमारमा सन् २०२२ मा त्यसको करिब दोब्बर अर्थात् ७९५ मेट्रिक टन उत्पादन भएको राष्ट्रसंघको तथ्यांक छ।
आर्थिक संकट, असुरक्षा र विश्वव्यापी महँगीसँगै लागुऔषध हेरोइन बनाउन प्रयोग गरिने अफिमको पनि मूल्यवृद्धि भएका कारण यसको उत्पादन बढेको राष्ट्रसंघको आकलन छ। सैन्य कूका कारण म्यानमारमा चर्किएको गृह युद्ध अझै जारी छ।
लागुऔषध र अपराधसम्बन्धी राष्ट्रसंघीय कार्यालय (युएनओडीसी)का क्षेत्रीय प्रतिनिधि जेरेमी डग्लास भन्छन्, “सन् २०२१ मा सेनाले सत्ता हत्याएपछि आर्थिक, सुरक्षा र सुशासनको पाटो खलबलिएको छ। जसका कारण विशेषगरी उत्तरी शान र सीमा राज्यसहित युद्ध प्रभावित ग्रामीण क्षेत्रका मानिसहरूसँग अफिम खेतीमा फर्कनुबाहेक विकल्प रहेन।”
म्यानमार विश्वमै सबैभन्दा बढी अफिम उत्पादन गर्नेमा अफगानिस्तानपछि दोस्रो मुलुक हो। विश्वभर बिक्री हुने अधिकांश हेरोइनका लागि यी दुवै स्रोत मुलुक हुन्। म्यानमारको अफिम अर्थतन्त्र २ अर्ब डलरसम्म रहेको राष्ट्रसंघको अनुमान छ। यस्तै, हेरोइनको क्षेत्रीय व्यापार करिब १० अर्ब डलर रहेको आकलन छ।
तर, पछिल्लो दशकमा खेती प्रतिस्थापन परियोजना र अर्थतन्त्र सुधारका अवसरले म्यानमारमा अफिम खेती लगातार घट्दो थियो। राष्ट्रसंघले गरेको वार्षिक अफिम सर्भेले म्यानमारमा यसको खेती पुनः बढेको देखाएको छ। सन् २०२२ मा सन् २०१३ यताकै सबैभन्दा बढी अफिम उत्पादन भएको पाइएको छ।
साथै, म्यानमारमा 'सिन्थेटिक' औषधि उत्पादनसमेत बढेको राष्ट्रसंघले जनाएको छ। युद्धग्रस्त क्षेत्रमा सञ्चालनमा आएका सशस्त्र समूहलाई आर्थिक सहायताका लागि पनि अफिम खेती गरिएको अनुमान छ। यद्यपि, अफिम खेती र यसको व्यवस्थापनका लागि सिन्थेटिक औषधिको तुलनामा धेरै कामदार आवश्यक पर्छ। रोजगारीका अन्य विकल्प नभएका र द्वन्द्वका कारण आर्थिक संकट खेपिरहेका मुलुकमा यसलाई आकर्षक नगदेबालीका रूपमा लिइन्छ।
राष्ट्रसंघका अनुसार अफिम किसानले गत वर्ष प्रतिकेजी २८० अमेरिकी डलर आम्दानी गरेका थिए। उनीहरूका लागि अफिम आकर्षक बाली र उपभोग्य वस्तुका रूपमा रहँदै आएको छ। अफिमबाटै हेरोइन, मर्फिन र कोकिनजस्ता थुप्रै लागुऔषध बनाइन्छ।
राष्ट्रसंघीय प्रतिवेदनअनुसार सन् २०२२ मा ४० हजार १०० हेक्टर क्षेत्रफलमा अफिम खेती भएको छ। जुन पहिले यसको एक तिहाइमा सीमित थियो। अहिले आधुनिक खेती प्रणालीमार्फत अफिम खेती भइरहेको पाइएको छ।
म्यानमार, थाइल्यान्ड र लाओसको सीमा जोडिएका क्षेत्रलाई ‘गोल्डेन ट्राएन्गंल’समेत भनिन्छ। ‘गोल्डेन ट्राएन्गंल’लाई अफिम र हेरोइन उत्पादनका लागि मुख्य स्रोत क्षेत्र मानिँदै आएको छ।
युएनओडीसीका म्यानमार प्रतिनिधि बेनेडिक्ट हफम्यान भन्छन्, "अफिम खेती नष्ट गरेर मात्र समस्या समाधान हुँदैन। यहाँको अर्थतन्त्रसँग जोडिएको छ। आर्थिक स्थायित्व र विकल्प नदिए अफिमको उत्पादन झनै बढ्ने छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
