गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

दुवैतर्फको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ। 

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा शुक्रबार अन्तिम सुनुवाइ हुँदै छ। 

बुधबार संवैधानिक इजलासमा शुरू भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। इजलासमा रिट निवेदकका तर्फबाट पाँचजना र सरकारी वकिलले बहस गरेका थिए। बहसका क्रममा सरकारी वकिलले लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहेको तर खारेज नभएको तर्क गरेका छन्।

त्यस्तै, रिट निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले भने निस्सा प्राप्ति नगरेको र पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले लामिछानेलाई राजनीतिक अधिकार नरहेको र नागरिक पनि कायम नरहने जिकिर गरेका थिए।

दुवैतर्फको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ।