प्रेमप्रसादकी श्रीमती नानुकाले दिइन् भाट्भटेनीसहित १२ संस्थाविरुद्ध किटानी जाहेरी

प्रेमप्रसाद आचार्यले मृत्युअघि फेसबुकमा उल्लेख गरेका भाट्भटेनीसहित १२ संस्थाहरूविरुद्ध किटानी जाहेरी परेको छ।

काठमाडौँ– आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले नेपाल सरकारसहित विभिन्न १२ संस्थाविरुद्ध किटानी जाहेरी दिएकी छन्। उनले जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान गर्नका लागि उजुरी दिएकी हुन्। उनले आचार्यले मृत्युअघि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका संस्थाहरूविरुद्ध किटानी जाहेरी दिएकी हुन्।

उनले बालकुमारीमा रहेको काठफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नक्सालमा रहेको सान इन्टरनेसनल कलेज, थापाथलीस्थित सुजुक शोरुम र इलामको सूर्योदय नगरपालिका ११ टेकबहादुर राईको साङ्पाङ् डेरीविरुद्ध जाहरी दिएकी हुन्।

त्यस्तै, नेपाल ग्रामोध्योग कम्पनी, सञ्चालक डा. उपेन्द्र महतो र डा. समता प्रसाद, गोल्यान एग्रोका पवन गोल्यान, अनिल बस्नेत, मेट्रोटरकारी डट्कम, नेपाल एक्प्रेस यूएई, डाबर नेपाल प्रालिका शंकर पन्त, कान्याम इन, झापा धुलावारीका अनिल भेटवाल, भाट्भटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारविरुद्ध उनले किटानी जाहेरी गरेकी छन्।

जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ विपरीत ‘आत्महत्या गर्न दुरुत्साहन दिने’ कसुरमा किटानी गरिएका सङ्गठन-संस्थामाथि कसुरअनुसारको कारबाही माग गरिएको छ। त्यस्तै, जाहेरीमा कानुनबमोजिम क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ।

आचार्यले पुस १० गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि शरीरमा आगो लगाइ आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा पुस ११ गते मृत्यु भएको हो।