सीसीपीको महाधिवेशन हलबाट पूर्वराष्ट्रपति हु जिन्ताओ निकालिए [भिडियो]

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को महाधिवेशन चलिरहँदा चिनियाँ पूर्वराष्ट्रपति हु जिन्ताओ बैठकबाट निकालिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को महाधिवेशन चलिरहँदा चिनियाँ पूर्वराष्ट्रपति हु जिन्ताओ बैठकबाट निकालिएका छन्। चिनियाँ राष्ट्रपतिमध्ये तुलनात्मक रूपमा उदार मानिएका हुलाई जबरजस्ती बैठकबाट निकालिएको भिडियो सार्वजनिक भएसँगै विश्वकै ध्यान खिचेको छ। 

बैठकबाट निकालिँदै गर्दा हुले सीलाई केही भन्दै ढाडमा धाप मारेका थिए। र, सीले टाउको हल्लाएका थिए। कमजोरजस्तो देखिएका ७९ वर्षीय हुलाई किन बैठकबाट निकालियो भन्ने विषय सार्वजनिक भएको छैन।

हु सन् २००३ देखि २०१३ सम्म चीनको राष्ट्रपति थिए। त्यसपछि पनि उनी सीसीपीको बैठकमा निरन्तर सहभागी हुँदै आएका छन्। हुलाई किन बैठकबाट निकालियो भन्नेबारे एकथरिले सीको शक्ति प्रदर्शन र अर्काथरिले उनको स्वास्थ्यमा समस्या भएको हुनसक्ने अनुमान गरेका छन्।

हु सामूहिक नेतृत्वमा विश्वास गर्ने र नयाँ विचारलाई स्थान दिने नेताका रूपमा चिनिन्छन्। राष्ट्रपति सीले भने पार्टी र सरकारलाई कोर र कसैले चुनौती दिन नसक्ने खालको बेग्लै दिशातर्फ लगिरहेका बताइन्छ।

ऐतिहासिक तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न लागेका सीले आफूलाई चुनौती दिने सबै नेताहरू पाखा लगाउन थालेको पनि धेरैको विश्लेषण छ। 

सीसीपीको २०औँ महाधिवेशन शनिबारबाट सकिएको छ। बेइजिङमा एक साता चलेको महाधिवेशनको अन्तिम दिन शनिबार राष्ट्रपति सीको अध्यक्षतामा स्थायी कमिटी सदस्य र सीपीसीको अनुशासन निरीक्षणको केन्द्रीय आयोगका सदस्य चुनिएका छन्।

महाधिवेशनले पार्टीको विधानसमेत परिवर्तन गरेको छ। बैठकले १९औँ महाधिवेशनको स्थायी कमिटीको प्रतिवेदन, कार्यप्रगति र अनुशासन आयोगको प्रतिवेदनको प्रस्तावलाई समेत अनुमोदन गरेको छ।

महाधिवेशन औपचारिक रूपमा सकिए तापनि भोलि सीसीपीको सबैभन्दा महत्त्वपूर्ण स्थायी कमिटीका सदस्यको छिनोफानो हुनेछ। उनीहरूले भोलि नै पत्रकार सम्मेलन गर्नेछन्।

चीनको आर्थिक सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका चिनियाँ प्रधानमन्त्री ली खस्याङ भने केन्द्रीय सदस्यमा परेनन्। साथै पोलिटब्युरो स्थायी कमिटी सदस्य वाङ याङको नाम पनि परेनन्।