गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउने प्रधानमन्त्री दाहालको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने घोषणा गरेका छन्।

आइतबार केन्द्रको २७औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले सरकारले यसलाई गम्भीर रूपमा लिने बताएका हुन्। “तपाईँहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसलाई सरकारले पनि गम्भीरतापूर्वक लिनेछ”, प्रधानमन्त्री दाहालले भने, “तपाईँहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्रक्रिया थाल्नुस्। सरकार प्रतिष्ठान बनाउन प्रतिबद्ध छ।’ 

प्रधानमन्त्री दाहालले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए। “गंगालाल हृदय केन्द्र देशभरका जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। जनताले यसलाई मुटु रोगक उपचारकाे केन्द्रका रूपमा बुझेका छन्”, उनले भने, “यसका लागि तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ।”

तानाशाही र निरंकुशताविरोधी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटु रोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको उनको भनाइ थियो। “विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भने, “हामीले निकै मेहनत गरेर संविधान जारी गरेका छौँ। संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्त्व दिइएको छ।” 

संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा लिपिबद्ध गरिएको र ती हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुन बनाउन बाँकी रहेको उनको भनाइ थियो।