राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरेको छ।

काठमाडौँ- भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थापालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। थापा नेपाली राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर हुन्। उनले विभागीय टोली नेपाल पुलिसलाई प्रशिक्षण दिँदै आएका छन्।

टोलीका सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन्।

मैत्रीपूर्ण खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको एन्फाले जनाएको छ। राष्ट्रिय महिला टोलीले घरेलु टोली भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। तर, मिति भने तय भइसकेको छैन।