विश्वभरका नेपालीको गायन र नृत्य प्रतिस्पर्धा अमेरिकाको ओहायोबाट शुरू भएको छ।
काठमाडौँ- विश्वभरका नेपालीको गायन र नृत्य प्रतिस्पर्धा गराउने उद्देश्यले पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अमेरिकाको ओहायोबाट शुरू भएको छ।
इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गर्ने यी दुवै कार्यक्रमको पहिलो अडिसन ओहायोको कोलम्बस शहरमा उद्घाटन भएको छ। फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति उद्घाटन गरेका हुन्।
अमेरिका र क्यानडाका विभिन्न शहरका नेपाली प्रतिस्पर्धीहरू अडिसनका लागि कोलम्बसमा भेला आएका थिए।
अमेरिका र क्यानडाबाट गायनमा १८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएको आयोजकले जनाएको छ। अडिसनमा गायन विधामा सर्वाधिक अंक ल्याउने १५ प्रतियोगी ‘साइट्लेस अडिसन’का लागि छनोट भए। उनीहरूबीच काठमाडौँमा प्रतिस्पर्धा हुनेछ।
नृत्यका लागि भने अमेरिकाको पेन्सलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा फेब्रुअरी ५ तारिखमा अर्को अडिसन हुनेछ। त्यस अडिसनबाट टप १२ प्रतिस्पर्धी छनोट गरी नेपालको साइट्लेस अडिसनका लागि पठाइनेछ।
विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो आयोजना गर्न पाउँदा आफूलाई गर्व लागेको आयोजक अधिकारीले बताए।
संसारको हरेक कुनामा बस्ने नेपालीले आफ्नो कला, संस्कृतिलाई प्रेम गर्ने र यसलाई विश्वभर फैलाउन र कलासंस्कृतिका माध्यमले एकै सूत्रमा बाँध्न सघाउ पुग्ने उनले बताए। यी दुवै शोमा प्रथम हुनेले जनही एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। यति ठूलो धनराशि पुरस्कार भएको यो नै पहिलो नेपाली रियालिटी शो भएको आयोजक अधिकारीले बताए।
कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एसोसिएसनका प्रमुख संरक्षक तथा ओहायोस्थित चिकित्सक डा दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभालाई एउटै थलोमा प्रतिस्पर्धाको मौका दिने फाउन्डेसनको कामको सराहना गरे।
अमेरिका र क्यानडाबाहेक विश्वका अन्य मुलुकका लागि रजिस्ट्रेसनको अन्तिम मिति यही जनवरीको ३१ सम्म राखिएको र युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुनेछ फाउन्डेसनका प्रवक्ता केशव आचार्यले बताए। सबै प्रतियोगी १८ वर्ष पुगेका, नेपाली मूलका र नेपाली भाषी नै हुनुपर्ने उनले बताए।
अडिसनबाट छनोटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्यान्ड, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्सको दुबई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीको यात्रा खर्च फाउन्डेसनले नै भुक्तानी दिने र टप ४० भित्र पर्ने प्रतियोगीका लागि खाना र होटल खर्चको व्यवस्था गरिने, नेपाल र भारतबाहेकका अरू देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीका लागि आवासको व्यवस्थासमेत गरिने आयोजकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
